मनिषा चम्लागाईँ । झापा।
तराईमा वार्षिक २ करोड २० लाख किलो तयारी सिटिसी चिया उत्पादन हुन्छ । जसको ४० प्रतिशत नेपालमा खपत हुन्छ भने, ६० प्रतिशत चिया भारत निर्यात हुन्छ । अर्थोडक्स चिया भने वार्षिक ६० लाख किलो उत्पादन हुने तथ्यांक छ । अर्थोडक्स चियाको १० प्रतिशत खपत नेपालमा हुन्छ भने ८० प्रतिशत भारत र १० प्रतिशत तेस्रो मुलुकमा निर्यात हुन्छ । तर, पछिल्लो दुई वर्षको तथ्यांक हेर्दा चिया निर्यात बर्षेनि खस्कदो अवस्थामा छ, भने उत्पादनको यकिन तथ्यांक छैन ।
आव २०७५ –७६को तुलनामा आव २०७६ –७७मा चियाको निर्यात ६६.१६ प्रतिशतले कम भएको छ । आव २०७५ –७६मा चिया क्षेत्रमा ४५ दिनसम्म आन्दोलन भए पनि २ अर्ब ९४ करोड २८ लाख ६० हजार ५३५ रुपैयाँको चिया निर्यात भएको थियो । आव २०७६ –७७मा चिया निर्यातको दोस्रो स्थानमा रहेको छ । मेची भन्सारबाट १ अर्ब ९४ करोड ७० लाख ५३ हजार १ सय ६० रुपैयाँको चिया निर्यात छ । विगत २ वर्षको तथ्यांकलाई हेर्ने हो भने मेची भन्सारबाट निकासीमा चियालाई अलैंचीले उछिनेको देखिन्छ । आर्थिक वर्ष २०७४ –०७५सम्म मेची भन्सारबाट सबै भन्दा धेरै चिया निर्यात हुँदै आएको थियो ।
यस वर्ष कोरोना कहरका कारण चिया निर्यात घटेको हिमालयन टि प्रोडियुसर्स कोओपरेटिभ्सका अध्यक्ष उदय चापगाईँले बताए । “चियाको पहिलो पत्ती ‘फस्ट फ्लस’ टिप्ने समयमा कोरोना महामारीले टिप्न सकिएन” चापागाईँले भने, “सरकारले चिया बगान सञ्चालनको अनुमति दिएसँगै शुरुभएको मनसुनले किसान थप मारमा परे जसले गर्दा चिया उत्पादनसँगै निर्यात घटेको हो ।” गत आर्थिक वर्ष सरकारले बजेट भाषणमा चिया किसानलाई मल उपलब्ध गराउने प्रतिबद्धता जनाए पनि कोरोनाको बाहाना देखाउँदै मल उपलब्ध नगराएको कारण पनि चिया उत्पादन घटेको चापागाईँको भनाई छ । “बजेट भाषणको ११ महिना पछि पनि सरकारले किसानलाई मल दिन सकेन” चापागाईँले प्रश्न गरे, “सरकारले नै जिम्बेवारी पुरा नगर्ने हो भने कसले गर्छ ?”
निर्यातको अवस्था कस्तो छ
आर्थिक वर्ष २०७६ –०७७मा मेची भन्सार कार्यालय काँकरभिट्टाबाट सबैभन्दा धेरै अलैंची निर्यात भएको छ । यस आर्थिक वर्षमा मेची भन्सारबाट ३ अर्ब ९० करोड ९२ लाख ७३ हजार १ सय ४८ रुपैयाँ बराबरको अलैंची निर्यात भएको भन्सारको तथ्यांकमा उल्लेख छ । गत वर्ष ३ अर्ब ८२ करोड रुपैयाँको अलैंची निर्यात भएको थियो । यस वर्ष कोरोना महामारीका कारण १५ प्रतिशत अलैंची निर्यात गर्न बाँकी रहेको अलैंची व्यवसायी महासंघका महासचिव सुबास भट्टराईले बताए ।
निर्यातजन्य वस्तुको तेस्रो स्थानमा दाल रहेको छ । मेची भन्सारबाट ९१ करोड ३४ लाख ८३ हजार ७ सय ७७ रुपैयाँ बराबरको दाल निर्यात भएको छ । यस नाकाबाट आव २०७४ –०७५मा १ अर्ब २४ करोड ३८ लाख ३४ हजार ७६७ रुपैयाँको दाल निर्यात भएको थियो । यस वर्ष दालको निर्यात घटेको भन्सारको तथ्यांकले देखाउँछ । निर्यातजन्य वस्तुको चौथो स्थानमा अम्रिसो रहेको छ । आव २०७६ –०७७मा ४४ करोड ३ लाख १४ हजार ६ सय ७३ रुपैयाँ बराबरको अम्रिसो निर्यात भएको छ । आव २०७४ –०७५को तुलनामा यस वर्ष अम्रिसो निर्यात घटेको छ । गत आवमा ३६ करोड ५५ लाख ३० हजार ९८१ रुपैयाँको अम्रिसो निर्यात भएको थियो । अम्रिसो पहाडी भेगको नगदेबाली अन्तरगत लिइन्छ ।
त्यस्तै मेची भन्सार कार्यालयबाट २८ करोड १ लाख १५ हजार ६ सय ३५ रुपैयाँ बराबरको जस्तापाता निर्यात भएको छ । आव २०७४ –०७५जस्तापाताको निर्यात तेस्रो स्थानमा थियो । यस वर्ष जस्तापाताको निर्यात घटेको भन्सारको तथ्यांकमा उल्लेख छ । आव २०७४ –०७५मा १ अर्ब ७४ करोड ३० लाख ४६ हजार ९६ रुपैयाँ बराबरको जस्तापाता निर्यात भएको थियो ।
सबैभन्दा धेरै पेट्रोलियम पदार्थ आयात
आर्थिक वर्ष २०७६ –७७मा मेची भन्सारबाट सबै भन्दा धेरै पेट्रोलियम पदार्थ आयात भएको छ । मेची भन्सारबाट ७ अर्ब ९३ करोड ४६ लाख १७ हजार ५ सय ८८ रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । आव २०७५ –७६ मेची भन्सारबाट १० अर्ब ३९ करोड ४८ लाख ८१ हजार ३१४ रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको थियो । आव २०७५ –७६मा मेची भन्सार कार्यालयबाट सबै भन्दा धेरै कोइला आयात भएको थियो ।
आव २०७५ –७६को तथ्यांकलाई हेर्दा मेची भन्सार कार्यालयबाट १३ अर्ब ७ करोड ३९ लाख ९ हजार ४५ रुपैयाँको कोइला आयात भएको थियो भने आव २०७६ –०७७मा मेची भन्सार हुँदै ६ अर्ब ७१ करोड ५५ लाख ९३ हजार ३ सय ३३ रुपैयाँको कोइला आयात भएको भन्सारको तथ्यांकले देखाउँछ । त्यस्तै, तेस्रो स्थानमा मकै आयात भएको देखिन्छ । मेची भन्सारबाट २ अर्ब १२ करोड ६ लाख ३३ हजार ५ सय ४७ लाख रुपैयाँ बराबरको मकै आयात भएको तथ्यांक छ । चौथो स्थानमा कालो सिमेन्ट क्लिंकर रहेको छ । मेचीभन्सारबाट आव २०७६–७७मा १ अर्ब ५९ करोड ६४ लाख ६७ हजार ६ सय ८८ रुपैयाँ बराबरको क्लिंकर आयात भएको देखिन्छ । आव २०७५–२०७६मा १ अर्ब ९७ करोड ८१ लाख २१ हजार ५४५ रुपैयाँ बराबरको क्लिंकर आयात भएको थियो । यस वर्ष क्लिंकर आयातमासमेत कमी भएको तथ्यांकमा उल्लेख छ । काँकरभिट्टा नाका हुँदै आउने सामग्रीमा सबैभन्दा बढी राजस्व पेट्रोलियम पदार्थ आयातबाट हुने गरेको भन्सार कार्यालयले जनाएको छ ।