बिर्तामोड ,साउन ११ । निर्माणाधिन बिर्तामोड–गरामनी सडकखण्डको एक किलोमिटर क्षेत्रमा गे्रडर बिग्रिएर अलपत्र छाडिएको आठ महिना भइसक्यो । त्यसलाई हटाउने कुरामा ठेकेदारले चासो नलिँदा सडक निर्माणमा अवरोध पुग्नुका साथै संभावित दुर्घटनाको खतरा बढेको छ ।

बिर्तामोड –गरामनी सडकखण्ड निर्माणको ठेक्का पाएका आशिष प्रेरा जेभीको ग्रेडर बिग्रिएपछि बाटैमा अलपत्र छाडिएको हो । सडक निर्माणको काम अलपत्र पारी अर्को ठेकेदारलाई जिम्मेवारी दिइसकेको त्यस निर्माण कम्पनीले आफ्नो सामान नलगी त्यतिकै छोडेको हो । पहिलेका निर्माण कम्पनीका ठेकेदार राजकिशोर गुप्तालाई आफ्नो मेशिन लैजान पटकपटक भन्दा पनि वास्ता नगरेको अहिलेका ठेकेदार केदार गिरीले बताए । गुप्तासँग गिरीले पेटी ठेक्का लिएका हुन् । आफूले विगत दुई महिनादेखि मेशिन लैजान भन्दै आएको तर गुप्ताले आश्वासन मात्र दिने गरेको गिरीको भनाइ छ । बिग्रिएर त्यतिकै छाडिएको त्यस ग्रेडरका कारण त्यहाँ काम हुन सकेको छैन । कारेना भाइरसको महामारी र लगातार वर्षातका कारण नियमित काम गर्न नसक्दा ढिला भइरहेका बेला त्यस मेशिनले अवरोध पु¥याएको गिरीले गुनासो गरे । बाटोमा अलपत्र छाडिएको त्यो ग्रेडर हटाउन बिर्तामोड नगरपालिकाले गाडीधनीको नाममा सात दिने सूचना प्रकाशित गरेको थियो । तर, त्यस निर्देशनलाई समेत गुप्ताले बेवास्ता गरेका छन् ।
त्यस विषयमा बुझ्दा ठेकेदार गुप्ताले आफूले गिरीलाई त्यस ग्रेडरलाई दमक पु¥याइदिन भनेको प्रतिक्रिया दिए । ‘ म काठमाडौंमा छु मैले गिरीजीलाई ग्रेडर दमक पु¥याइदिनु लागेको खर्च बेहोर्ने भनिसकेको छु’ उनले भने,‘ उहाँसंग मैले पैसा पाउनु छ त्यसमा कटाए पनि भयो ।’ गुप्ताले बीच बाटोमा ग्रेडर राखेर नहटाउने र अवरोध गर्ने कुनै कारण नभएको स्पष्ट पारे । ‘हाइड्रोलिक बिग्रिएर छोडिएको ग्रेडरलाई बाटोमा कुहाउन दिन्नँ’ उनले भने, ‘ गिरीलाई फेरि भन्छु मान्नु भएन भने आफै त्यसलाई हटाउँछु ।’

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्