इन्द्रसिंह राजवंशी,

बिर्तामोड , साउन ११ । अव्यवस्थित शहर बिर्तामोडको विकासमा पानीको निकास बाधक बनेको छ । साविक पानीको निकास बन्द गरिँदा जटिल समस्या थपिदै गएको हो । नगरबासीहरु वर्षेनी डुबानको समस्यामा पर्छन् । बिर्तामोडका धेरै घरहरु वर्षायामभरि डुबेर बस्नुपर्ने अबस्था छ । पानीको उचित निकास दिन नसके त्यो समस्या अझ विकराल बन्ने निश्चित छ ।

नक्सामा सतानु पैनी

गाउँ विकास समितिबाट नगरपालिका बनेको बिर्तामोडलाई गाउँबाट छिट्टै शहर बन्ने मौका मिल्यो । शहरको रुप लिएपनि व्यवस्थित नगर बन्न सकेन । जसको परिणाम अहिले नगरपालिका र नगरबासीहरुले भोग्दै आएका छन् । विगतका वर्षझैँ यस वर्ष पनि पानीको निकासलाई लिएर निकै विवाद भयो । बिर्तामोडको उत्तरी भागबाट बगेर आउने बर्षातको पानीले सैनिकमोड डुबानमा पर्यो । मेची आँखा अस्पताल अगाडि भद्रपुुर सडकमाथिबाट खोलाजस्तै पानी बग्न थाल्यो । पानी थुन्न र कटाउन नगरबासी हैरान छन् । सैनिकमोड चोकमा पानी थुप्रिरहेको छ । एउटै नालाबाट पानी बगाउन संंभव छैन । वर्षौ अघिदेखिको सतानु पैनीलाई मासेपछि बिर्तामोडमा पानी निकासको समस्या आएको हो । त्यो पैनीका बारेमा धेरैलाई थाहा नहुन सक्छ । अन्धुवा खोलाजस्तै पानी निकास र सिंचाईको लागि त्यो पैनी निकै उपयोगी रहेको थियो ।
कहाँ थियो सतानु पैनी
हालको बिर्तामोड नगरपालिका वडा नं ५ , ४ र ३ भएर बग्ने सो पैनी वडा नं ९ सम्म पुगेर टुंगिएको थियो । बिर्तामोडको मुक्ति चौक उत्तरदेखि बिर्तामोड ९ को नरियाबारीसम्म पैनीको साविक वहाव रहेको थियो । तर, अहिले त्यस सतानु पैनीको नामोनिशान छैन । पुरानो लाली गुराँस होटलदेखि उत्तरबाट शुरु भएको पैनी ट्राफिक प्रहरी कार्यालय , प्रसाई सुपर मार्केट, हिकोला होटल हुँदै पूर्व—पश्चिम राजमार्ग क्रस गरी दक्षिणतर्फ बग्ने गरेको थियो । राजमार्ग दक्षिणमा संगम स्वीट्स, कुमारी बैंकको पूर्वपट्टि पुरानो भद्रपुर रोडको छेउबाट बग्दै दक्षिण झर्ने गरेको थियो । पुरानो भद्रपुर रोड पूर्वपट्टिबाट बग्दैे भुपेन्द्रसिंह राजवंशीको जग्गाको सिमानासम्म कायम रहेको पैनी बिर्ताबजारदेखि पूर्व आनन्दगञ्ज जाने बाटोदेखि दक्षिण विराटज्योति बोर्डिङको बाटो हुँदै शुभलक्ष्मी टोलतर्फ बग्ने गरेको थियो ।त्यस टोलभन्दा अझ दक्षिण बिर्तामोड ३ को मुसहरबस्ती पूर्व हुँदै नरियाबारीसम्म पैनी रहेको थियो । २०२१ सालको नक्सालाई हेर्दा साविक अनारमनीको २,३ र ७ नं वडामा सो पैनी कायम रहेको देखिन्छ । सर्पट नापीको नयाँ नक्सामा पनि पैनी कायम छ । हालको नयाँ नक्सालाई हेर्दा सिट नं १७९—१६० मा पैनीलाई कायम राखिएको हो । तर , शिरदेखि पुछारसम्मको पुरै पैनी नक्सामा कायम छैन । कतिपय ब्यक्तिले यसलाई आफ्नो नाममा नम्बरी बनाइसकेका छन् । करिव दुई प्रतिशत पैनीको भूभाग मात्र अस्तित्वमा छ । अधिकांश भाग अतिक्रमण भइसकेको छ । पैनीको सार्वजनिक जग्गा मासेर त्यसमा ठूलठूला घरहरु निर्माण गरिएका छन् । त्यस्तै कतिपय ठाउँमा पैनी मिचेर प्लटिङका लागि बाटो निर्माण गरिएको छ । विराटज्योति बोर्डिङ जाने बाटो पैनी मिचेरै बनाइएको हो भने शुभलक्ष्मी टोलको प्लटिङको बाटो पैनीकै जग्गामा निर्माण गरिएको छ । करिव साढे तीन किलोमिटर लम्बाई र ३०देखि ४० फुट चौडाई रहेको सतानु पैनी सबै मासिसकेको छ । सर्पट नापीले धेरै ठाउँमा पैनीलाई नम्बरी बनाइदिएको हो । नापी टोली आउनुअघि नक्सामा कायम रहेको पैनीलाई सर्पटले हालसाविक गरी नम्बरी बनाइदिएको बिर्तामोड नगरपालिका वडा नं ५ का वडाध्यक्ष राजेन्दप्रसाद्र लिङदेन बताउँछन् । कतिपयले पैनीमाथि बनाएको आफ्नो घरको नक्सा पास गरिसकेको उनले बताए । हालको बिर्तामोड ५ मा पैनीको जग्गा अतिक्रमण गरी सबैभन्दा बढी निजी संरचना निर्माण गरिएका छन् । वडा नं ४ र ३ मा पनि घर र बाटो बनाएर पैनी मासिएको छ ।
सतानु पैनी खोल्न माग
पानीको निकासको समस्या भएर डुबान भएपछि बिर्तामोडबासीहरुले सतानु पैनी खोल्न माग गरेका छन् । घरहरु डुबानमा परेपछि बिर्तामोड ४ का सयभन्दा बढी घरधनीले केही महिना अगाडि सतानु पैनी खोल्न माग गर्दै वडा कार्यालयमा निवेदन दिएका थिए । त्यसको अगुवाइ आदर्श टोल, पौरखी टोल , सद्भाव टोललगायतका ८ वटा टोल विकास संस्थाले गरेका थिए । ती निवेदनसहित सिफारिस वडा कार्यालयले गत चैत ४ गते नगरपालिकामा बुझाएको थियो । त्यस निवेदनउपर संघीय सासद पवित्रा खरेल, प्रदेश सांसद एकराज कार्की सहितको उपस्थितिमा नगरपालिकामा छलफल भएपनि पैनी खोल्ने कुरामा कुनै निर्णय नभएको वडा नं ४ का वडाध्यक्ष कुलप्रसाद संग्रांैलाले बताए । ‘ सतानु पैनीको विषयमा कार्यपालिकाको बैठकमा छलफल भयो’ उनले भने,‘ तर, अब के गर्ने भनेर कुनै निश्कर्ष निकाल्न सकिएन । नक्सामा भएको सार्वजनिक सतानु पैनी खोल्नु पर्छ भन्ने सोच बनाएको बिर्तामोड नगरपालिकाले पैनी खोल्ने आँट गर्न नसकेको हो । अर्को कुरा नखोली सुख पनि छैन । किनकि पानीको निकास नखोलिए आगामी दिनमा अझ समस्या थपिदै जानेछ । आफूले केही दिन अघिको नगर परिषदमा पनि सतानु पैनी खोल्नु पर्छ भनेर आवाज उठाएको वडाध्यक्ष संग्रौलाले बताए । पुरै पैनी नभएपनि साविक ठाउँमा नाला खनेर पानीको निकास दिनु पर्ने जरुरी भएको उनको भनाइ छ । यसलाई नगर गौरवको आयोजनामा पारेर नगरपालिकाले तत्काल काम बढाइहाल्नु पर्ने वडाध्यक्ष संग्रौलाले आबश्यकता औल्याए । सतानु पैनी खोल्न सिंगो नगरपालिका लागीरहेको बताउँदै वडा नं ५का वडाध्यक्ष लिङदेनले यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने समस्या रहेको धारणा राखे ।उनले मासिएका पैनी खोलेर ढलको व्यवस्था गर्नका लागि सांसद खरेलबाट गुरुयोजना निर्माण गर्न १० लाख रुपैयाँ विनियोजन भएको जानकारी दिए । पैनी मासिएपछि सबै पानी सैनिकमोड चोकमा थुप्रिने गरेको छ । बिर्तामोड ३ का बासिन्दाले पनि सतानु पैनी खोलिनु पर्छ भन्दै वडाध्यक्ष भोजराज सिटौलाको ध्यानाकर्षण गराएका छन् । ‘ सैनिकमोड चोकदेखि विराटज्योति बोर्डिङ जाने बाटोसम्म राजमार्गमा ४ वटा कल्भर्ट थियो ’स्थानीय इन्द्र बुढाथोकीले भने, ‘ सडक निर्माण गर्ने क्रममा ती सबै कल्भर्ट पुरिएको छ ।’ उनले सतानु पैनी मासिएर पानीको निकास नहुँदा आफूहरुको घर डुबानमा परेको समस्या सुनाए । बिर्तामोडमा सतानु पैनी मात्र नभएर टावर टेम्पल स्कुलदेखि दक्षिण बग्ने पैनीलगायत ४ वटा सार्वजनिक पैनी मासिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्