भद्रपुर, साउन १२ । भद्रपुर नगर क्षेत्रमा स्वास्थ्य सावधानी अपनाएर विद्यालय सञ्चालन गर्न अनुमति दिने तयारीमा रहेको नगर शिक्षा समितिले विद्यालयको भौतिक पूर्वाधार तथा रोग संक्रमण नियन्त्रणका लागि गरिएकोे तयारीबारे भद्रपुर ७ स्थित एमरेल्ड एकाडमीको अनुगमन गरेको छ ।

नगर शिक्षा समितिका अध्यक्ष तथा भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठको नेतृत्वमा तत्काल विद्यालय सञ्चालन गर्न आवश्यक पूर्वाधार तयारी पूरा गरे– नगरेको स्थलगत अनुगमन गरिएको हो ।
अनुगमनका क्रममा कोरोना रोगको भाइरस सर्न नदिने वातावरण निर्माणअन्तर्गत तयारी गरिएको निशेचीकरण उपकरण जडान, त्यसबाट उत्पन्न हुन सक्ने लाभ हानी, प्रयोग गरिने रसायनलगायतका बारेमा प्राविधिक पक्षबाट छलफल गरिएको थियो । विद्यालयका संस्थापक निर्देशक प्रा. डा. पृथ्वीविक्रम राईले विद्यालय प्रवेशद्वारमा बनाइएको संक्रामक किटाणु नास गर्ने निशेचीकरणस्थल, हात धुने स्थानलगायत कक्षा सञ्चालन स्थल समेत रोग संक्रमण जोखिम मुक्त बनाइएको जानकारी गराएका थिए ।
अनुगमनपश्चात् नगर प्रमुख श्रेष्ठले कक्षा कोठामा विद्यार्थी तथा शिक्षकशिक्षिका समेतलाई कोरोना त्रास कम गर्दै उच्च सतर्कता अपनाउन सुझाव दिएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्