झापा ,साउन १२ । स्थानीय समुदायमा कोरोना संक्रमण फैलिएपछि बाह्रदशी गाउँपालिका भोलिदेखि सिल गरिने भएको छ ।

गाउँपालिकाले सूचना जारी गरी भोलिदेखि बाह्रदशी गाउँपालिकाको वडा नं १ ,२ र ३ अनिश्चित समयका लागि सिल गरिने जनाएको हो । अर्को सूचना जारी नभएसम्मका लागि संक्रमित क्षेत्रभित्रका तीनवटा वडा सिल गर्ने निर्णय भएको गाउँपालिका अध्यक्ष खड्गप्रसाद राजवंशीले बताए । जिल्लामा पहिलो पटक बाह्रदशीमा सुरक्षाकर्मीबाहेक समुदायका ब्यक्तिमा कोरोना सरेको पाइएको हो । बाह्रदशी गाउँपालिकाका दुईजनामा आज संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेहरुमा एकजना राजनीतिक कार्यकर्ता र अर्का स्वास्थ्यकर्मी रहेका छन् । बाह्रदशी २ का स्वास्थ्यकर्मी र वडा नं ३ का नेकपाका एक कार्यकर्तालाई संक्रमण देखिएको गाउँपालिका कार्यालयले जनाएको छ ।चार दिन अघि क्वारेन्टाइनमा बसेका ब्यक्ति , जनप्रतिनिधि , स्वास्थ्यकर्मी र राजनीतिक कार्यकर्ता गरी २६ जनाको स्वाब संकलन गरी पठाइएको थियो । त्यसमध्ये समुदायका ती दुई जनामा संक्रमण पुष्टि भएको हो । उनीहरुलाई कहाँबाट र कसरी कोरोना सर्यो भन्ने थाहा हुन नसकेको अध्यक्ष राजवंशीले बताए ।‘बाहिर बढी हिड्ने भएकाले चार दिनअघि मैले उहाँहरुलाई बोलाएर स्वाब संकलन गर्न लगाएको थिएँ ’ उनले भने ,‘ कसरी सर्यो खोज्नै पर्छ ।’ संक्रमितहरुलाई धरान पठाइएको छ । योसँगै बाह्रदशीमा कोरोना संक्रमितको सँख्या १४ पुगेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्