गौरीगञ्ज ,साउन १३ । कन्काई नदीमा आएको बाढीका कारण गौरीगञ्ज १ होकलबाडीका २९ परिवार फेरि विस्थापित भएका छन् ।

गत असार २९ गते होकलबाडीका ३१ परिवार विस्थापित बनेका थिए । सोही वस्तीमा कनकाईको बाढी फेरि पसेको हो । पहिला भत्काएको ठाउँबाट कनकाईको बाढी पसेको वडा सदस्य राजभक्त सुनुवारले बताए । त्यतिबेला विस्थापितहरुलाई स्थानीय इन्द्रेणी प्राविमा राखिएको थियो । पानी घटेपछि घर फर्केका बाढीपीडितहरु पुनः विस्थापित भएर विद्यालयमा आश्रय लिन पुगेका छन् । पहिलाका ३१ परिवारमध्ये १० परिवार पूर्णरुपमा विस्थापित भई विद्यालयमै बसिरहेका थिए । त्यस्तै गौरीगञ्जको अर्को ठाउँमा कनकाईले बाँध भत्काएको छ । बाँध भत्किएर बाढी पस्दा रोपेको सयौँ विगाह धान खेती नष्ट भएको छ । गौरीगञ्ज १ स्थित रँगियाथान र बिशुवाडोभाबीचको भागमा कनकाई नदीले करिव २०० मिटर बाँध भत्काएको वडा नं १ का वडाध्यक्ष कार्तिकलाल राजवंशीले बताएका छन् ।
बाढीले किसानहरुले रोपेका सयौ विगाह धान बाली पूर्णरुपमा नष्ट गरिदिएको छ । बाढीले स्थानीय देवनारायण राजवंशी, कृष्ण राजवंशी तुलाराम राजवंशी, शिवनारायण राजवंशी, दिपक राजवंशी चन्द्रनारायण राजवंशी, रामकुमार राजवंशी , नारायण राजबंशी, जयनारायण राजवंशी , शिवनारायण राजवंशी, ईन्द्रबहादुर बस्नेत, लक्ष्मी गौतम र बमशंकर राजवंशीलगायतको सयौ विगाह धान बाली नष्ट भएको वडाध्यक्ष राजवंशीले बताए । बिस्थापितहरुलाई राहतका लागि पहल भइरहेको उनले जानकारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्