झापा ,साउन १४ । स्थानीय समुदायमा कोरोना संक्रमण देखिएपछि सिल गरेको बाह्रदशी गाउँपालिकाले अझ कडाई गर्दै निशेधाज्ञा लगाउने तयारी गरेको छ ।

सिल गरिएको राजगढ बजार

समुदायका थप ब्यक्तिहरुमा कोरोना संक्रमण पुष्टि भएमा निशेधाज्ञा लगाउने तयारी गरिएको गाउँपालिका कार्यालयले जनाएको छ । जिल्लामा पहिलो पटक बाह्रदशी गाउँपालिकामा समुदायका दुई ब्यक्तिमा कोरोना सरेको हो । संक्रमित हुनेहरुमा एकजना राजनीतिक कार्यकर्ता र अर्का स्वास्थ्यकर्मी रहेका छन् । बाह्रदशी ३ का नेकपाका कार्यकर्ता तथा निजी क्लिनिक र फार्मेसी संचालन गरेका वडा नं २ का स्वास्थ्यकर्मीलाई तीन दिनअघि संक्रमण देखिएको थियो । समुदायमा संक्रमण देखिएपछि गाउँपालिकाले त्यसको भोलिपल्टदेखि वडा नं १,२ र ३ सिल गरेको छ । ती संक्रमितहरुको सम्पर्कमा आएका परिवारका सदस्य , नातागोता, साथीसंगत गरी हिजो ४१ जनालाई कन्ट्याक्ट ट्रेसिङ गरिएको थियो । त्यसको रिपोर्ट भोलि आउने भएको छ । रिपोर्टले थप समुदायका ब्यक्तिलाई कोरोना देखाएमा निशेधाज्ञा लगाउने तयारी गरिएको गाउँपालिका अध्यक्ष खड्गप्रसाद राजवंशीले बताए । बाह्रदशीमा कोरोना संक्रमितको सँख्या १४ पुगेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्