गौरीगञ्ज , साउन १५ । हिजो कोरोना संक्रमणका कारण धरानस्थित बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारका क्रममा ४५ वर्षिय पुरुषको मृत्यु भएपछि सुनबर्षि नगरपालिकाको वडा नं ८ सिल गरिएको छ ।

समुदायस्तरमा कोरोना संक्रमण फैलिएको आशंकामा गएराति १२ बजेदेखि लागु हुनेगरी साउन १७ गते राति १२ बजे सम्मका लागि सो वडा सिल गरिएको सुनबर्षि नगरपालिकाका नगर प्रमुख कालीप्रसाद दासले बताएका छन् ।
४५ वर्षिय पुरुषको संक्रमणका कारण हिजो साँझ मृत्यु भएको खबर पाएलगतै बसेको कार्यपालिकाको आकस्मिक बैठकले सो निर्णय गरेको हो । मृतकको सम्पर्कमा आएकाहरुको पहिचान गर्न र थप ब्यक्तिहरुमा संक्रमण फैलिन नदिन सो निर्णय गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले हिजो अबेर राति सूचना प्रकाशित गरी वडा नं ८ लाई सिल गरी सिक्टी, डाइनिया, मल्दैयाटोल, झपटतल र बरडंगामा सुरक्षा जाँचको व्यवस्था गरिने जनाएको छ ।
मृतक जेठ २२ गते भारतको हैदराबादबाट नेपाल फर्केर इस्लामिया मदरसा क्वारेन्टाइनमा बसेका थिए । स्वाब थ्रोट रिपोर्ट नेगेटिभ आएपछि उनी असार १ गते घर गएका थिए । त्यसको महिना दिनपछि साउन ६ गते भारतस्थित साली बिरामी भएकीले उनी भारतको केरागाछी गएका थिए । उनी उतैबाट उपचारका लागि पुर्णिया गएका थिए । त्यसपछि उनी भारतकै अररिया झालस्थित ससुराली घरमा तीन दिन बसेर उच्च ज्वरोसहित नेपाल फर्केका थिए । साउन ११ गते सुनबर्षि ८ सिक्टीस्थित घर फर्केका उनी क्वारेन्टाइन नगइ घरमै बसेका थिए । ज्वरो आएपछि उनले गाउँमै सामान्य उपचार गराएको र गाउँकै एक स्वास्थ्यकर्मीसँग स्लाइन पानी चढाएको नगरपालिका कार्यालयले जनाएको छ । ज्वरो कम नभएपछि उनी साउन १३ गते बिराटनगरस्थित गोल्डेन र कोशी अस्पताल गएको बताइएको छ । कोशी अस्पताल विराटनगरको फिबर क्लिनिकमा गएपछि आइसोलेसनमा भर्ना गरी स्वाब संकलन गर्न लगाइएको थियो रिपोर्ट पोजेटिभ आएर धरान रेफर गरिएका उनको हिजो साँझ त्यही मृत्यु भएको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्