रत्नबहादुर बस्नेत,
झापा, साउन १५ । विश्वभर नै महामारीको रुप लिइरहेको नोबल कोरोना भाइरस(कोभिड–१९)को सन्त्रास बढिरहेको समयमा सरकारको निर्देशन र स्वास्थ्य सुरक्षाको पूर्ण पालना कमैले गरेको पाइएको छ ।

आन्तरिक राजश्व कार्यालयको भीड

सार्वजनिक स्थान तथा कार्यालय आउँजाउँ गर्दा तथा काम कारवाहीका क्रममा अधिकांश मानिसहरुले कोरोना नियन्त्रणका लागि निर्देशित नियमको पालना नगरेको पाइएको हो।
जिल्ला सदरमुकाम चन्द्रगढी –भद्रपुरका विभिन्न कार्यालयमा कामका लागि जाने सेवाग्राही र कर्मचारीहरुबाट स्वास्थ्य सुरक्षाको मापदण्ड पूरा नगरेको पाइएको हो। सवारी साधनमा यात्रा गर्दा होस् वा सार्वजनिक सेवा लिँदा–दिँदा सेवाग्राही तथा राष्ट्रसेवक कर्मचारीले अनिवार्य माक्सको प्रयोग र सामाजिक दूरी कायम गर्नुपर्ने निर्देशन भए पनि सो पालना नभएको देखिएको छ । अत्यावश्यकीय कामका लागि घरबाट निस्कँदा, हाटबजार, कार्यालय वा मर्निङवाकमा निस्कँदा कम्तीमा एकमिटर दूरी कायम गरेमा वा एक्लाएक्लै हिँड्दा माक्स प्रयोग गर्न नपर्ने (केही समय माक्स नलगाउन सकिने) भएपनि भीडभाडमा रहँदा वा दुई जना एक आपसमा बोल्दा, लेनदेनको व्यवहार, कारोबार गर्दा अनिवार्य माक्स लगाउनुपर्ने सरुवा रोग विशेषज्ञहरुले बताएका छन्। केही समय अघि सरकारले माक्स नलगाए कार्बाही गर्ने बताइसकेको छ । जसमा केही मानिसहरुको ध्यानाकर्षण भएपनि यसतर्फ अधिकांश सर्वसाधारण गम्भीर नहुँदा यतिखेर कोरोना संक्रमणको जोखिम अझ बढ्दै गएको छ।
स्वास्थ्य सुरक्षाको मापदण्ड पालनामा बेवास्ता गर्दै जाने हो भने कोरोना भाइरस समुदायमा फैलन गई भयावह अवस्था सिर्जना हुनसक्ने चेतावनी समेत केही दिन यता स्वास्थ्य विशेषज्ञहरुले निरन्तर दिइरहेका छन्।
जिल्लाको अति व्यस्त आन्तरिक राजस्व कार्यालय तथा मालपोत कार्यालयमा माक्स लगाएकामध्ये पनि अधिकांशले सही प्रयोग नगरिएको पाइएको छ। धैरेले देखाउनका लागि चिउडामा राखेर एकअर्कामा टाँसिएर वा छेउबाटै कारोबार गरेको देखिएको छ। ‘आफ्नो स्वास्थ्य सुरक्षाभन्दा कामप्रति सबै ब्यस्त रहने गरेका छन्, आजको सानो लापर्बाहीले भोलि ठूलो विपति निम्तिन पनि सक्छ भन्ने तर्फ कसैको ध्यान गएको देखिदैन’ बिर्तामोडका व्यवसायी टंक कट्टेलले भने। अनुगमनमा सरकारले कडाइ गर्नुपर्नेमा उनले जोड दिए। भद्रपुरबाट बिर्तामोडका लागि बसमा माक्स नलगाई चढेका एक यात्रीले भने– प्रहरीले त मलाई हेर्दै थियोे तर म तर्की हालें।’ उनको भनाइमा माक्सको प्रयोग कोरोना संक्रमणको जोखिमबाट बच्ने उपायभन्दा पनि कानुनी कारवाहीबाट बच्ने बाध्यात्मक अवस्था हो भन्ने संकेत देखिन्थ्यो। यसरी मानिसहरुमा चेतना र सावधानीभन्दा पनि कानूनको डर केही मात्रामा भएको पाइन्छ ।
यता सार्वजनिक बसमा यात्रुबाट तोकिएभन्दा बढी भाडा असुल्ने गरेको पाइएको छ। तोकिए अनुसार साविक भाडामा थप गरेर आफूले पैसा दिए पनि कन्डक्टरले अझै मागेको बिर्तामोड–९ का नेत्र बस्नेतले बताए । उनले भन– ’लकडाउन अघि बिर्ताबजारदेखि चन्द्रगढीसम्मको बस भाडा २० रुपैयाँ थियो, मैले बढेको भाडासहित ३० रुपैयाँ दिँदा पनि थप पैसा मागियो।’ बिर्ताबजारबाट चन्द्रगढीसम्म यात्रा गरेका उनले प्रतिकार गरी थप पैसा भने नदिएको बताए। अन्य निमुखा यात्रुबाट बढी भाडा लिइरहेको बस्नेतको भनाइ छ। सरकारले लकडाउन खुल्ला गरेसँगै सिट क्षमताभन्दा कम यात्रु राखेर अनिवार्य स्वास्थ्य सुरक्षाको नियम अपनाउँदै जिल्लाभित्र मात्र सार्वजनिक यातायात सञ्चालन गर्न र ५०प्रतिशत भाडा थप लिन पाउने अनुमति दिएको थियोे। तर अनुगमन नहुँदा यस्ता सवारी साधनहरुले नियम विपरित धेरै यात्रु राखेर अनुचितरुपमा बढी भाडा असुल्ने गरेका छन्। यसमा यात्रुहरु नै सजग हुनुपर्ने सरोकार निकायको भनाइ रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्