द्रोण अधिकारी,
भद्रपुर, साउन १५ । झापामा संघीय सरकारमार्फत विनियोजित बजेटमध्ये पूँजीगत तर्फ ६१.२४ र चालु तर्फ ९६ प्रतिशत खर्च भएको छ ।

कोष नियन्त्रक कार्यालय झापाको विवरण अनुसार आर्थिक वर्ष २०७६–०७७ को असार मसान्तसम्ममा संघीय सरकार मार्फत आएको बजेटमध्ये पूँजीगत तर्फ ६१.२४ प्रतिशत तथा चालु तर्फ ९६ प्रतिशत खर्च भएको हो ।
जसअनुसार स्थानीय तहको पूँजीगत तर्फ ८८.८० तथा संघीय कार्यालयहरूको ६१.२३ प्रतिशत खर्च भएको विवरणले देखाएको छ भने स्थानीय तहको चालुतर्फ ९७.०८ तथा संघीय कार्यालयहरूको चालुतर्फको खर्च ९६.५९ प्रतिशत असार मसान्तसम्म खर्च भएको देखिन्छ । प्रमुख कोष नियन्त्रक लावण्य दाहालका अनुसार संघीय कार्यालयहरूको खर्च विवरण यथार्थ भएपनि स्थानीय तहको खर्च विवरण सम्पूर्ण रूपमा संघीय कोष नियन्त्रक कार्यालयमा रहने छैन । प्रमुख दाहालका अनुसार संघीय सरकार, प्रदेश सरकार तथा स्थानीय कोष मार्फत आयव्यय रहने स्थानीय तहको बजेटको खर्च विवरण हरेक स्थानीय तहमा फरक फरक हुन सक्छ ।
झापामा संघीय सरकारमार्फत पूँजीगत खर्चका लागि ६ अर्व १९ करोड ७६ लाख ५१ हजार ६९० रूपैयाँ बजेट विनियोजन भएकोमा ३ अर्व ८१ करोड ७८ लाख १० हजार १२६ रूपैया ८६ पैसा खर्च भएको छ । खर्च हुन नसकेको रकम संघीय सरकारको कोषमा फिर्ता गएको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्