भद्रपुर साउन १५ । कोरोना भाइरस संक्रमण समुदायमा फैलिएको आशंका बढिरहेका बेला भद्रपुर नगरपालिकाका सामुदायिक तथा निजी विद्यालयहरु सञ्चालनमा रहेको पाइएको छ ।

सरकारले अरु सबै क्षेत्र खुल्ला गरेपछि शिक्षा क्षेत्रका विषयमा निर्णय नगरेकै अवस्थामा भद्रपुर नगरपालिकाका निजी तथा सामुदायिक विद्यालयले ९ र १० कक्षाको पढाइ शुरु गरेका हुन् ।
विद्यालय खुल्ला रहेको भन्ने सूचनाका आधारमा नेपाल विद्यार्थी संघ झापाले एमरल्ड एकाडेमी, एस.एस. निकेतन, प्रज्ञा एकाडेमी, विभुति विद्या मन्दिर, इस्ट पोइन्ट अंग्रेजी स्कुल लगायतका विद्यालयको अनुगमन गरेको थियो । अनुगमनका क्रममा माक्स, सेनिटाइजर लगायत प्रयोग गरेरै कक्षा सञ्चालन गरिरहेको पाइएको ने.वि.संघ झापाका सभापति राजेन्द्र उप्रेतीले जानकारी दिए ।
नेविसंघ झापाका अनुसार भद्रपुर नगरपालिका शिक्षा शाखाले निर्णय गरेरै विद्यालय सञ्चालन ल्याइएको हो । कोरोना भाइरसको जोखिम बढिरहेको अवस्थामा सामुदायिक र निजी विद्यालयहरु सञ्चालनमा रहेको पाइएपछि ने.वि.संघ झापाले विद्यार्थीहरुको स्वास्थ्यलाई प्राथमिकतामा राखेर तत्काल बन्द गर्न प्रमुख जिल्ला अधिकारीसँग माग गरेको छ ।
नेविसंघ झापाको टोलीले प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगर, प्रहरी प्रमुख कृष्ण कोइराला, र जिल्ला शिक्षा समन्वय इकाई झापाका प्रमुख जयप्रसाद महतलाई भेटेर विद्यालय सञ्चालन भइरहेकोबारे जानकारी गराउँदै प्रशासनिक निकाय तथा जिल्ला कोरोना संक्रमण जोखिम नियन्त्रण तथा अनुगमन समितिका संयोजक समेत रहेका प्रजिअको ध्यानाकर्षण गराएको ने.वि.संघ झापाका सहसचिव मिलन चापागाईले जानकारी दिए । नेविसंघको टोलीसँग कुरा गर्दै प्रजिअ रानाले विद्यालय सञ्चालन सरकारी निर्णय विपरित भएको जनाउँदै तत्काल बन्द गराउने आश्वासन दिए ।
यसैबीच विद्यालय सञ्चालनका विषयमा भद्रपुर नगरपालिकाका उपमेयर चन्द्रा श्रेष्ठले आचारसंहिता लागु गरेर केही विद्यालयहरुले कक्षा सञ्चालन गरिरहेको जानकारी दिइन् ।
‘हामीले माथि पनि सम्पर्क गरेका हौं ’श्रेष्ठले भनिन् ‘कोरोना संक्रमणको जोखिम कम रहेका क्षेत्रमा आचारसंहिता पालना गरेर विद्यालय सञ्चालन गर्न सकिने भन्ने कुरा आएपछि हामीले सञ्चालन गर्न भनेका हौं ।’ उनका अनुसार विद्यालय सञ्चालनका लागि नगरपालिकाले पनि आचारसंहिता लागु गरेको छ ।
यता भद्रपुर नगरपालिका शिक्षा शाखाका प्रमुख प्रेम भुजेलले भने नगरपालिकाले विद्यालय सञ्चालनका लागि औपचारिक निर्णय नगरेको जानकारी दिएका छन् । निजी तथा सामुदायिक विद्यालयका प्रधानाध्यापक, राजनीतिक दलका प्रतिनिधि, नगरपालिकासहितको संयुक्त बैठकपछि तयार पारिएको आचारसंहिता पालना गरेर अभिभावकसमेतको राय लिई विद्यालय सञ्चालन गर्न भनिएपनि औपचारिक निर्णय नगरिएको भुजेलले बताए।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्