गौरादह, साउन १७। झापाको गौरादह आसपासका किसानहरुले पालेका गाईवस्तुमा नयाँ रोगको संक्रमण देखा परेको छ ।

दुई सातायता गौरादहसहित कमल गाउँपालिकाका किसानहरुले पालेका गाई, बाच्छा, बाच्छी र गोरुमा अनौठो किसिमको संक्रमण देखा परेको हो । भैंसी र राँगामा यसको समस्या कम देखिएको छ ।यो रोग लागेपछि गाईहरुको शरीरमा फोका भएर घाउ हुने, शरीरमा डाबर आउने, गाईवस्तुलाई ज्वरो आउने, शरीरका विभिन्न ठाउँमा पानी जमेर सुन्निने जस्ता रोगका लक्षणहरु देखा पर्ने गरेको किसानहरुले बताएका छन् । पशुमा एक्कासी नयाँ रोगको संक्रमण देखिएपछि किसानहरु चिन्तित भएका छन् ।गौरादह पशु सेवा शाखा प्रमुख सन्तोष भण्डारीका अनुसार पशुमा देखा पर्ने लम्पी स्किन डिजिज भाइरसका कारण संक्रमण देखिएको हुनसक्ने लक्षण छ । यदि त्यही संक्रमण देखिए यसको कुनै ठोस उपचार तथा रोकथाम नभएको र यसको खोप नेपालमा हालसम्म उपलब्ध नभएकाले लक्षण अनुसार घाउको उपचार मात्र गर्न सकिने उनले जानकारी दिए ।यस्तै, गौरादह नगरपालिकाभित्रका पशु सेवा प्राविधिकहरुले २०७७ साउन ९ गते सम्मको उपलब्ध गराएको तथ्याङ्क अनुसार गौरादहभित्रका ५ सय १ वटा गाई, १ सय ८३ बाच्छी , ९४ वटा बाच्छा, ७ वटा गोरु र ४ वटा भैंसी गरी ७ सय ८९ वटा र नगरसंग जोडिएको कमल गाउँपालिकाभित्र करिव १ सय ५० वटा गाई, बाच्छा बाच्छीहरुमा लम्पी स्किन डिजिजसँग मिल्दोजुल्दोे समस्या देखा परेको उनले जानकारी दिए ।कार्यालयले पशुमा देखिएको नयाँ संक्रमण थप फैलिन नदिन भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भद्रपुरमा पठाइसकेको र रिपोर्ट आउन बाँकी रहेको गौरादह पशु सेवाका प्राविधिक दिनेश ढकालले बताए ।अफ्रिकन मुलुकका पशुमा यो रोगको समस्या देखिएतापनि नेपालमा भने पहिलोपटक यो रोग देखा परेको हुन सक्ने पुश प्राविधिकहरुले दावी गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्