बिर्तामोड । कोरोना संक्रमितको सम्पर्कमा आएका बिर्तामोडका ११६ जना यतिबेला होम क्वारेन्टाइनमा छन् ।

बिर्तामोड आएका बाह्रदशी र इलामका कोरोना संक्रमितहरुसंगको सम्पर्कमा पुगेकाहरुलाई होम क्वारेन्टाइनमा राखिएको हो । होम क्वारेन्टाइनमा बस्नेहरु केही राजनीतिकर्मीहरु पनि रहेका छन् । कोरोना संक्रमित बाह्रदशी गाउँपालिकाका नेपाल कम्युनिष्ट पार्टीका नेता र सोही ठाउँका स्वास्थ्यकर्मी एवं औषधि व्यवसायीको सम्पर्कमा आएका बिर्तामोडका ६८ जनालाई कन्ट्याक्ट ट्रेसिङ गरी होम क्वारेन्टाइनमा राखिएको हो । त्यस्तै इलामका संक्रमितको सम्पर्कमा आएका ४८ जनालाई कन्ट्याक्ट ट्रेसिङ गरी उनीहरुलाई पनि होम क्वारेन्टाइनमा राखिएको छ । संक्रमितहरु आएपछि संभावित संक्रमणको जोखिममा परेको बिर्तामोडमा पहिलोपटक ठूलो मात्रामा कन्ट्याक्ट ट्रेसिङ गरिएको हो । बाह्रदशीका दुई जना संक्रमितको सम्पर्कमा आएका ६८ जना र ईलामका संक्रमितको सम्पर्कमा आएका ४८ जना र अन्य गरी जम्मा १३३ जनाको कन्ट्याक्ट ट्रेसिङ गरिएको बिर्तामोड नगरपालिकाका फोकल पर्सन ओम खड्काले बताए ।तीन दिन लगाएर सो कन्ट्याक्ट ट्रेसिङ गरिएको र परीक्षणका लागि त्यसलाई शुक्रबार पिसिआर ल्याबमा पठाइएको उनले जानकारी दिए । अबको चार दिनमा त्यसको रिपोर्ट आउने जनाइएको छ ।
बाह्रदशी २ घर भएका नेकपाका ती जिम्मेवार नेता साउनको पहिलो साता बिर्तामोड आएका थिए । नेकपाको पार्टी कार्यालयमा उनी कामको सिलसिलामा गएका थिए । त्यस बखत उनले केही राजनीतिकर्मीलाई भेटेका थिए । त्यस दिन कार्यालयमा रहेका जिल्ला तहका पार्टी कार्यकर्ता र उनीहरुले भेटेका अन्य कार्यकर्ताहरुको कन्ट्याक्ट ट्रेसिङ गरी सबैलाई होम क्वारेन्टाइनमा बस्न भनिएको एक कार्यकर्ताले बताएका छन् । ‘कन्ट्याक्ट ट्रेसिङको रिपोर्ट नआएसम्म सबैलाई घरमै बस्न भनेका छौं’ उनले भने ।
त्यस्तै इलाममा कार्यरत सशस्त्र प्रहरी निरीक्षकसंग सम्पर्कमा आएकाहरुलाई पनि कन्ट्याक्ट ट्रेसिङ गरी होम क्वारेन्टाइनमा राखिएको छ । इलामका कोरोना संक्रमित सशस्त्र प्रहरी रिपोर्ट नआउँदै बिर्तामोडको पूर्वमा रहेको धर्मकाँटा छेउको घरमा बस्दै आएका थिए ।झापाको बाहुनडाँगीमा ती सशस्त्र प्रहरी निरीक्षकको स्वाब संकलन गरिएको थियो ।
बाह्रदशीका ती दुई कोरोना संक्रमित व्यक्तिहरुको नजिकको सम्पर्कमा रहेका ४१ जना सबैको रिपोर्ट भने नेगेटिभ आएको छ । ती संक्रमितहरुको सम्पर्कमा आएका बाह्रदशीका ४१ जनाको कन्ट्याक्ट ट्रेसिङ गरिएको थियो । जसको रिपोर्ट शुक्रबार नेगेटिभ आएको हो । नेकपाका नेताको घरपरिवारमा श्रीमती र छोराछोरीको समेतको कन्ट्याक्ट ट्रेसिङको रिपोर्ट नेगेटिभ आएको हो । त्यस्तै उनीसँगै हिडेका ७२ वर्षका एक बृद्धको रिपोर्ट पनि नेगेटिभ आएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत बाह्रदशीका दुवै संक्रमितहरु स्वस्थ्य रहेका छन् । उनीहरुमा कोरोनाको खासै लक्षण नदेखिएको जनाइएको छ । ‘मलाई केही भएको छैन , मेरो परिवारका सदस्यहरुको रिपोर्ट समेत नेगेटिभ आइसक्यो ’ उनले प्रतिदिनसँग भने,‘ अरुहरुले डराउनु पर्दैन ।’ उनले आफूहरुको कारणले त्रसित नहुन आमसमुदायसँग आग्रह गरे ।त्यस्तै अर्का संक्रमित बाह्रदशीका स्वास्थ्यकर्मी एवं औषधि व्यवसायीले आफू विगत एक महिनादेखि बिर्तामोड नआएको स्पष्ट पारेका छन् । उनले आफ्ना स्टाफहरु चाहिँ बिर्तामोड आएको बताए । ती स्वास्थ्यकर्मीको घरका सदस्य र स्टाफहरुको रिपोर्ट पनि नेगेटिभ आएको छ । अर्को पिसिआर रिपोर्टको पखाईमा रहेका दुवैले आफूहरु संक्रमण थाहा पाइपाइ बिर्तामोडलगायतका स्थानमा घुमेकोजस्ता भ्रम नफैलाउन आग्रह गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्