राजगढ , साउन १९ । बाह्रदशी गाउँपालिका १ भागुडुब्बामा राजवंशी, सन्थाल, मुसलमान र यादव जातिको बसोबास सदियौंदेखि पाइन्छ । दशकौंदेखि भौतिक अभाव झेल्दै आएका भागुडुब्बाबासीले २० को दशकसम्म शिक्षा आर्जन गर्न पाएका थिएनन् । गाउँमा शिक्षाको जग बसाउँन समाजसेवी अग्रज स्व.अमृतलाल राजवंशीको अतुलनीय योगदान छ ।

अमृत माविको निर्माणाधिन भवन

उनले भागुडुब्बाका बालबालिकालाई शिक्षा प्रदान गर्ने हेतुले विद्यालय स्थापनाको अभियान चलाएका थिए । विसं. २०२० सालमा आफ्नो नामको एक बिघा १२ कट्ठा ३ धुर जमिन निःशुल्क दान गरी राजवंशीले भागुडुब्बामा ‘अनिवार्य तथा निःशुल्क प्राथमिक पाठशाला केन्द्र नं. २ बोक्राझाडी’ नामक विद्यालय स्थापना गरेका थिए ।
स्थापनाको समयमा राजवंशीले दान गरेको जमिनमा ‘यू’ आकारको चार कोठे विद्यालय भवन निर्माण गरिएको थियो । सो भवनमा तत्कालीन सरकारले कक्षा १ देखि ३ सम्म पठनपाठन गर्न पाउने स्वीकृति प्रदान गरेको थियो । स्थानीयबासीको साथसहयोग र शिक्षा आर्जन गर्ने विद्यार्थीको चापले विद्यालयलाई थप ‘अपग्रेड’ गर्नुपर्ने बाध्यता पनि थपिदैँ गयो । शिक्षक, अभिभावक तथा स्थानीयबासीको सहमतिमा विसं. २०३० सालमा यस विद्यालयलाई प्राथमिकबाट निम्न माध्यमिक बनाउने प्रस्ताव अघि सारिएको थियो । सोहीअनुसार विद्यालयमा कक्षा थप गर्ने क्रम पनि बढाउदै लगियो । विसं. २०४२ सालसम्म स्थानीय अभिभावक तथा समाजसेवीलगायतको सहयोगबाट ११ बर्ष निजी खर्चबाट प्रस्तावित निमाविको रुपमा विद्यालय सञ्चालन गरिएको इतिहास छ ।
सरकारले २०४२ साल माघ २२ गते कक्षा ७ सम्म पठनपाठन हुनेगरी निम्न माध्यमिक विद्यालय स्वीकृत गरेको थियो । स्वीकृति दिने क्रममा विद्यालयको नाम ‘अनिवार्य तथा निःशुल्क प्राथमिक पाठशाला केन्द्र नं. २ बोक्राझाडी’ हटाएर विद्यालय स्थापना गर्ने कार्यमा तन, मन र धन दिएर योगदान गरेका अमृतलाल राजवंशीको नामबाट विद्यालयको नाम जुराईयो ‘अमृत नि.मा.वि.बोक्राझाडी राजगढ १ ।’
शिक्षा नियमावलीको……..विधानअनुसार नि.मा.वि. कक्षा ८ सम्म पठनपाठन हुनुपर्ने भएकाले २०५३ साल मंसिर ९ गतेदेखि पुनः निजी स्रोतमा कक्षा ८ थप गरियो । स्थानीय अभिभावक, शिक्षक, समाजसेवीलगायतको सहयोगमा ५० हजार रुपैयाँ बैंकको मुद्धति खातामा राखेर कक्षा ८ थप गरी सञ्चालन गरिएको थियो । कक्षा थप गरिएपनि उक्त कक्षा सञ्चालनका लागि सरकारले विद्यालयलाई शिक्षक दरबन्दी नदिएको बाह्रदशी १ का वडाध्यक्ष शम्भुसिंह राजवंशी बताउँछन् ।
जिल्लाको दक्षिण–पश्चिम भेगका निम्न आयस्रोत भएका गरिब जनताका छोराछोरीलाई आधारभूत शिक्षा उपलब्ध गराउनेतर्फ विद्यालय परिवार सधैं चिन्तित रह्यो । यसै क्रममा २०७५ सालदेखि प्रस्तावित माविका रुपमा विद्यालयमा कक्षा ९ को पठनपाठन सुरु गरियो । २०७६ सालमा यस विद्यालयका ४१ जना विद्यार्थीले पहिलो पटक कक्षा १० को एसईई परीक्षाको तयारी गरेका थिए ।
शैक्षिक बर्ष २०७६ सालमा विद्यालयमा कुल ४ सय ८० जना विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा १४ जना शिक्षक कार्यरत छन् । जसमा प्रावितर्फ ७, निमातर्फ ३, राहत १, निजी २, बालबिकास १ र कर्मचारी १ जना रहेका छन् । विद्यालयमा मावि स्वीकृत नभएकाले मावि कक्षा पठनपाठन गराउने शिक्षकको अभाव छ । विषयगततर्फ अंग्रेजी, विज्ञान, गणित र कम्प्युटर शिक्षक छैन । हाल विद्यालयमा चारवटा भवन रहेका छन् । ती भवनमा १३ वटा कोठा रहेको छ । ८ कोठाको दुई तले विद्यालय भवन निर्माणाधीन छ । उक्त भवन गाउँपालिका र जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ झापाको १ करोड १ लाख ५७ हजार ६ सय ६८ रुपैयाँको लागतमा विद्यालय भवन निर्माण भइरहेको हो । २०७६ असोजदेखि निर्माण थालिएको भवनको २०७७ कार्तिक मसान्तभित्र निर्माण सम्पन्न गर्नुपर्ने समयावधि छ ।
विद्यालयको नाममा विभिन्न दाताले दिएको कूल ५ बिघा १० कट्ठा ३ धुर जमिन छ । त्यहीँ जमिनमा विद्यालय रहेको छ । १ बिघा जमिन अन्धुवा खोलाले कटान गरी बगरमा परिणत गरेको छ । ३ बिघा १५ कट्ठा जमिन उचित व्यवस्थापनको अभावमा काँसघारीको रुपमा रहेको छ । विद्यालय परिसर रहेको जमिनमा ऐतिहासिक तथा पुरानो भागुडुब्बा बजार लाग्दै आएको छ । करिब १५ कट्ठा जमिनमा फैलिएको भागुडुब्बा बजारमा ५९ जनाले व्यापार व्यवसाय गर्दै आएका छन् । उनीहरुले एक धुरको बार्षिक ५० रुपैयाँका दरले विद्यालय व्यवस्थापन समितिलाई रकम बुझाउने गरेका छन् । बजार क्षेत्रमा रहेको जमिनमा बसेका पसलहरुबाट विद्यालयलाई बार्षिक ८२ हजार ३ सय ८२ रुपैयाँ आम्दानी हुने गरेको छ । विद्यालयको जमिन व्यापार व्यवसाय गर्नका लागि न्यूनतम डेढ धुरदेखि अधिकतम् साढे ९ धुर जमिन सम्म व्यापारीहरुले बार्षिक भाडाबापत उपभोग गर्दै आएका छन् ।
विद्यालय परिसरभित्र वडा निवासी दाता यमनाथ गजुरेलले करिब ४ लाख रुपैयाँ खर्च गरेर २०७४ माघ महिनामा सरस्वती माताको मूर्तिसहितको मन्दिर निर्माण गरिदिएका छन् । विद्यालय स्थापनाकालका भवन जीर्ण बनेका छन् । छानाका जस्तापाता चुहिन थालेको छ । कक्षा कोठाहरुमा फ्यानको व्यवस्था छैन । अधिकांश झ्यालहरु लाग्दैन । थप भवन निर्माणका लागि वडा कार्यालय, विद्यालय व्यवस्थापन समिति, शिक्षकहरु दाताको खोजीमा रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्