झापा, साउन १९ । सोमबार झापाका ५ जनामा कोरोना संक्रमण देखिएको छ । झापाको अर्जुनधारमा ४ पुरूष र बिर्तामोडमा १ महिलामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ । बिर्तामोडमा कोरोना पुष्टि भएकी महिला देविमावि स्थित क्पारेन्टाइनमा रहेकी थिइन् । अर्जुनधारामा कोरोना संक्रमण देखिएका ४ जना पुरुष शनिश्चरे माविको क्वारेन्टाइनमा थिए ।
त्यस्तै मोरङमा ५६ जना संक्रमित थपिएका छन् । जसमध्ये विराटगरका २२ जना छन् । समुदायमा संक्रमण फैलिएपछि लकडाउन घोषणा भएको विराटनगर महानगरपालिकाभित्र थप २२ जनालाई कोरोना संक्रमण देखिएको मन्त्रालयले जानकारी दिएको छ । विराटनगरमा भेटिएका संक्रमितमध्ये ७ जना १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरमा कार्यरत प्रहरी हुन् ।
मन्त्रालयले दिएको जानकारी अनुसार विराटनगरमा १६ जना पुरूष र ६ जना महिलामा संक्रमण देखिएको छ । संक्रमितहरुमध्ये प्रदेश सरकारका मुख्य न्यायाधीवक्ता चुढामणी आचार्यसहित उनको परिवारका अन्य दुई सदस्य पनि छन् । विराटनगरमा देखिएका संक्रमतिमध्ये न्यूरो हस्पिटलका ३ जना नर्स र म्याक्स अस्पतालका एक जना कर्मचारी छन् । यस्तै कोशी अस्पतालमा कार्यरत थप २ जना स्वास्थ्यकर्मी र विराट मेडिकल कलेजमा कार्यरत एक जनामा पनि कोरोना देखिएको छ ।

मोरङकै रंगेली नगरपालिकामा पनि २२ जनालाई कोरोना पोजेटिभ देखिएको छ । रंगेलीमा १३ पुरूष र ९ महिलामा संक्रमण देखिएको हो । यस्तै कटहरी गाउँपालिकामा २ जना महिलामा संक्रमण देखिएको छ । उता सुनसरीमा ५ जनालाई संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । इटहरीमा ३, धरान र इनरुवामा १–१ जनालाई संक्रमण देखिएको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्