बिर्तामोड, साउन १९ । आज झापाका ५ जनामा कोरोना संक्रमण देखिएको छ । झापाको अर्जुनधारामा चार पुरूष र बिर्तामोडमा एक महिलामा संक्रमण देखिएको हो ।

संक्रमित हुनेमा अर्जुनधारा वडा नं ४ का दुईजना र वडा नं ८ र १० का एक–एक जना रहेका छन् । ती संक्रमितमध्ये दुईजना भारतबाट र अन्य दुईजना मलेसिया र कतारबाट फर्केका थिए । त्यस्तै बिर्तामोड ६ की एक महिलामा कोरोना पुष्टि भएको छ । उनी भारतबाट फर्केर देवी माविस्थित क्वारेन्टाइनमा रहेकी थिइन् । अर्जुनधारामा कोरोना संक्रमण देखिएका ४ जना पुरुष शनिश्चरे माविको क्वारेन्टाइनमा थिए । योसँगै झापामा कोरोना संक्रमितको सँख्या ३७५ पुगेको जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन जीवन चौलागाईले बताए ।
त्यस्तै मोरङमा ५६ जना संक्रमित थपिएका छन् । जसमध्ये विराटगरका २२ जना छन् । समुदायमा संक्रमण फैलिएपछि लकडाउन घोषणा भएको विराटनगर महानगरपालिकाभित्र थप २२ जनालाई कोरोना संक्रमण देखिएको सामाजिक मन्त्रालयले जानकारी दिएको छ । विराटनगरमा भेटिएका संक्रमितमध्ये ७ जना १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरमा कार्यरत प्रहरी हुन् ।
मन्त्रालयले दिएको जानकारी अनुसार विराटनगरमा १६ जना पुरूष र ६ जना महिलामा संक्रमण देखिएको छ । संक्रमितहरुमध्ये प्रदेश सरकारका मुख्य न्यायाधीवक्ता चुडामणी आचार्यसहित उनको परिवारका अन्य दुई सदस्य पनि छन् । विराटनगरमा देखिएका संक्रमतिमध्ये न्यूरो हस्पिटलका ३ जना नर्स र म्याक्स अस्पतालका एक जना कर्मचारी छन् । यस्तै कोशी अस्पतालमा कार्यरत थप २ जना स्वास्थ्यकर्मी र विराट मेडिकल कलेजमा कार्यरत एक जनामा पनि कोरोना देखिएको छ ।
मोरङकै रंगेली नगरपालिकामा पनि २२ जनालाई कोरोना पोजेटिभ देखिएको छ । रंगेलीमा १३ पुरूष र ९ महिलामा संक्रमण देखिएको हो । यस्तै कटहरी गाउँपालिकामा २ जना महिलामा संक्रमण देखिएको छ । उता सुनसरीमा ५ जनालाई संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । इटहरीमा ३, धरान र इनरुवामा १–१ जनालाई संक्रमण देखिएको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्