बिर्तामोड, साउन २० । एकका लागि एक अभियानको अगुवाईमा जनस्तरबाट झापाको कनकाई–४ कोटीहोममा स्थापित कोरोना भाइरस परीक्षण गर्ने पीसीआर ल्याव मेची प्रादेशिक अस्पताल भद्रपुरले सञ्चालन गर्ने निर्णय गरेको छ ।

मंगलबार अस्पताल सञ्चालन तथा व्यवस्थापन समिति र अभियानकर्मीबीच भएको बैठकबाट उक्त निर्णय भएको हो । अभियानले उक्त ल्याव अस्पताललाई हस्तान्तरण गर्ने र सो ल्याव अस्पतालले सञ्चालन गर्ने अस्पतालका अध्यक्ष तथा जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेल विश्वकर्माले बताए । ल्याव सञ्चालनका लागि अस्पतालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा स्वीकृति लगायतका प्रक्रिया अघि बढाउने समेत निर्णय भएको छ ।

अध्यक्ष विश्वकर्माको अध्यक्षतामा भद्रपुरस्थित जिसस भवनमा भएको बैठकले ल्याव सञ्चालनसहितका चार बुँदे निर्णय गरेको छ । ल्याव सञ्चालनका लागि चाहिने जनशक्ति कनकाई नगरपालिकाले आवश्यक समन्वय गरी कर्मचारी नियुक्त गरेर अस्पताललाई काजमा दिने, हाललाई जनशक्तिको सम्पूर्ण व्ययभार कनकाई नगरपालिकाले समन्वय गरेर प्रदान गर्ने समेत निर्णय भएको छ ।

त्यस्तै ल्याव सञ्चालनको दैनिक व्यवस्थापन मेची अस्पतालले गर्ने बताइएको छ । एकका लागि एक अभियानलाई प्राप्त भएका सबै सामग्रीहरु अस्पताललाई हस्तान्तरण गर्न सहयोग गर्ने समेत निर्णय भएको छ । एकका लागि एक अभियानका तर्फबाट संयोजक महेन्द्रकुमार गिरीले छलफलमा कुरा राखेका थिए । संयोजक गिरीले सरकारलाई महामारी नियन्त्रणमा सहयोग पु¥याउन सरकार–समुदाय–सहकारी अभियान र निजी क्षेत्रको साझेदारीमा स्थापित पीसीआर ल्यावका लागि आवश्यक थप उपकरणहरु जुटाउँदै जाने समेत बताए ।

संविधानसभाका सदस्य प्रेम गिरी र रेडक्रस झापाका सभापति लोकराज ढकालले बैठकमा सहजीकरणको भूमिका निर्वाह गरेका थिए । कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले जिल्लाका सबै पालिकाहरुसँग समन्वय गरेर ल्याव सञ्चालनका लागि आइपर्ने जिम्मेवारी वहन गर्ने बताए । अभियानका तर्फबाट बैठकमा सहसंयोजक विनोद बस्नेत, सदस्य घनश्याम अधिकारी, सजेश शिवाकोटी, एकराज गिरी र भोला धिताल सहभागी थिए ।
एकका लागि एक अभियानको अगुवाईमा ल्याव स्थापनाका लागि कनकाई नगरपालिका, अन्तर्राष्ट्रिय झापाली समाज, सहकारी अभियानका तर्फबाट जिल्ला सहकारी संघ, निजी क्षेत्र तथा सामाजिक संस्थाले साझेदारी गरेका छन् । एकका लागि एक अभियानमा विश्वभरबाट एक सय २७ संस्था र एक हजार तीन सय जना नागरिकले व्यक्तिगत तवरबाट आर्थिक सहयोगसहित ऐक्यबद्धता जनाएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्