बिर्तामोड ,साउन २३ । सबैतिरका कोभिड आइसोलेसन सेन्टर भरिएपछि बिर्तामोड ३ का कोरोना संक्रमितलाई उपचारमा नलगी क्वारेन्टाइनमै राखिएको छ ।

झापाको मेची अस्पतालमा निर्माण गरिएको कोभिड आइसोलेसन सेन्टर चार दिनमै भरिएपछि त्यहाँ लैजाने ठाउँ छैन । त्यस्तै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान , कोशी अस्पताल विराटनगर र मोरङकै गोठगाउँमा पनि बेड खाली छैन । कही पनि खाली नभएपछि संक्रमितलाई क्वारेन्टाइनमै राखिरहेको बिर्तामोड नगरपालिकाका फोकल पर्सन ओम खड्काले बताए ।‘ लैजाने ठाउँ नभएर क्वारेन्टाइनमै राखिरहेका छौं’ उनले भने,‘ अब के गर्ने भनेर सल्लाह गर्दैछौं ।’ कंचनजंघा इन्स्टिच्यूट क्वारेन्टाइनमा बसेका बिर्तामोड ३ का २६ वर्षिय पुरुषमा आज कोरोना पुष्टि भएको हो । उनी भारतबाट फर्केका थिए । योसँगै बिर्तामोडमा संक्रमितको संख्या ११ पुगेको छ । केही दिन अघिदेखि संचालित मेची २२ शैय्याको आइसोलेसन सेन्टर बिहीबार भरिएको हो । भद्रपुर नगरपालिकास्थित मेची अस्पतालको आइसोलेशन सेन्टरमा सोमबारदेखि कोरोना संक्रमितलाई राख्न थालिएको थियो ।
आइसोलेसन सेन्टरमा बेड खाली नभएपछि बिहीबार संक्रमण पुष्टि भएका मेचीनगर नगरपालिकाका ८ मध्ये २ जनालाई धाइजन स्वास्थ्य चौकीको क्वारेन्टाइनमा राखिएको छ । मेचीमा निर्माण गरिएको आइसोलेसन जिल्लाको एक मात्र आइसोलेसन सेन्टर हो ।
जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन जीवन चम्लागाईले भने, ‘मेचीको आइसोलेसन चार दिनमै भरियो । बेड अभावमा बिहीबार संक्रमण पुष्टि भएका मेचीनगरका ८ मध्ये २ जनालाई धाइजनको क्वारेन्टाइनमा राखेका छौं ।’ आज मेचीनगरमा समुदायमा एकजना युवामा संक्रमण देखिएको छ । ती संक्रमितलाई पनि धाइजन स्वास्थ्य चौकीको क्वारेन्टाइनमै राखिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्