मेचीनगर, साउन २३ । मेचीनगर नगरपालिकाको नगरस्तरीय कोरोना संक्रमण नियन्त्रण कार्यदलको आज सम्पन्न बैठकले नगरका दुईवटा वडा अर्को निर्णय नभइञ्जेलका लागि लकडाउन गर्ने निर्णय गरेको छ ।

नगरका विभिन्न वडामा समेत समुदायमा नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमण देखा परेपछि आज राति १२ बजेदेखि लागु हुनेगरी मेचीनगर–९ र १० नम्बर दुईवटा वडालाई अर्को निर्णय नभईञ्जेल लकडाउन गर्ने निर्णय गरेको हो । साथै मेचीनगर ९ र १० का सबै क्षेत्रमा हिडडुलमा समेत कडाइ गरिएको छ ।कार्यदल संयोजक विमल आचार्यको अध्यक्षता र प्रदेश नम्बर १ का प्रदेशसभा सदस्य गोपालचन्द्र बुढाथोकीसहित नगरका क्रियाशील राजनीतिक दलका प्रमुख प्रतिनिधिसहितको बैठकले वडा नं.९ र १० भित्र सञ्चालनमा रहेका सवै प्रकारका उद्योग व्यवसाय, होटल, पसल वन्द रहने, डेरी, खाद्यन्न र सव्जी पसल हरेक दिन विहान ८ देखि १० वजे सम्ममात्र खुल्ला रहने निर्णय गरेको नगरपालिकाले जनाएको छ ।यस्तै औषधी पसल, स्वास्थ्य उपचार केन्द्र र अस्पताल नियमित सञ्चालन हुने, नगरभित्र रहेका वित्तीय संस्था (बैँक, फाइनान्स र सहकारी) हरु स्वास्थ्य सुरक्षाका विधि अपनाई सञ्चालन गर्ने निर्णय समेत गरेको नगरप्रमुख एवम् कार्यदल संयोजक विमल आचार्यले बताए । नगरका अन्य क्षेत्रमा कोरोना भाइरसको संक्रमण फैलिन नदिन तथा संक्रमित युवाका परिवारसहित उनीसंग सम्पर्कमा आएका र अन्य शंकाष्पद ब्यक्तिहरुको कन्ट्याक्ट ट्रेसिङ गरी पिसिआर परीक्षणका लागि स्वाब संकलन गरिने समेत बताइएको छ ।उनीहरुको रिपोर्ट नआएसम्म मेचीनगर ९ र १० नम्बर वडाका सबैखाले सार्वजनिक गतिबिधिहरु पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको नगरप्रमुख आचार्यको भनाइ छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्