झापा , साउन २४ । झापाका चिया श्रमिकहरुले पारिश्रमिक बृद्धिलगायतका चार सुत्रीय माग अघि सारेका छन् ।श्रम ऐन २०७४ को दफा १०६ मा प्रत्येक दुई वर्षमा न्यूनतम पारिश्रमिक पुनरावलोकन गर्ने व्यवस्था भएकोले २०७७ साउन १ गतेदेखि लागू हुने गरी आफूहरुको पारिश्रमिक बृद्धि गर्न चिया श्रमिकहरुले माग गरेका हुन् ।

चिया श्रमिकका तर्फबाट विभिन्न तीनवटा श्रमिक संगठनले आज बिर्तामोडमा संयुक्त पत्रकार सम्मेलन गरी आफ्ना माग सार्वजनिक गरेका हुन् । नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक संघ , नेपाल चिया बगान श्रमिक संघ र अखिल नेपाल चिया मजदुर संघले श्रम ऐनअनुसार पारिश्रमिक बृद्धि गरिनुका साथै पत्ति डबली समय अनुकुल बृद्धि गर्न माग गरेका छन् । उनीहरुले यसअघि बृद्धि गरिएको दैनिक १०७ बराबरको रकम अहिलेसम्म नपाएको भन्दै त्यसलाई यथाशिघ्र भुक्तानी गर्न समेत माग गरेका छन् । २०७५ साउन १ देखि बृद्धि भएको सो रकम भुक्तानी दिइसक्ने २०७६ बैशाख ३० गते संझौता भएको थियो । ‘ श्रम ऐन अनुसार प्रत्येक दुई वर्षमा पारिश्रमिक पुनरावलोकन गर्ने व्यवस्था छ’ नेपाल चिया बगान श्रमिक संघका केन्द्रीय अध्यक्ष दीपक तामाङले भने, ‘ त्यस व्यवस्थाअनुसार साउनदेखि चिया श्रमिकहरुको पारिश्रमिक बढाउनु पर्यो ।’ उनले यसअघि बृद्धि गरिएको पारिश्रमिक अहिलेसम्म भुक्तानी नदिनु उचित नभएको बताए । लकडाउनका कारण अन्य उद्योगधन्दा धरासायी भएपनि चिया उद्योगहरु राम्रो चलिरहेको अखिल नेपाल चिया मजदुर संघकी केन्द्रीय अध्यक्ष सीता सापकोटाले बताईन् । ‘ हरियो पत्ति र तयारी चियाको मूल्य बढेको छ, यस वर्ष चियाको मूल्य विगतमा भन्दा चौगुणा बृद्धि भएको छ ’ उनले भनिन्,‘ चिया श्रमिकहरुको पारिश्रमिक चाहिँ बढेको छैन ।’ लकडाउनका बेला चिया श्रमिकहरुले पारिश्रमिक बृद्धिको माग राख्नु असान्दर्भिक नभएको नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक संघका उपाध्यक्ष सहीकुमार राईले स्पष्ट पारे । उनले कोरोनाको यस्तो महामारीमा समेत चिया श्रमिकहरु जोखिम मोलेर काम गरिरहेको बताउँदै मजदुरहरुको योगदानप्रति रोजगारदाताहरु संवेदनशील नबनेको आरोप लगाए । ‘माग तेस्र्याएर आन्दोलन थालिहाल्ने पक्षमा हामी छैनौं’ उनले भने , ‘ रोजगारदाताहरुसंग वार्ता र संवादको माध्यमबाट समाधान खोज्न तयार छौ. । २०७६ चैत ११ देखि लकडाउन भएकोमा चिया बगानहरु चैत २१ गतेदेखि सुचारु गरिएका छन् ।

श्रमिकहरुले पारिश्रमिकबाट सामाजिक सुरक्षा कर तिर्दै आएका छन् । तर, अहिलेसम्म सूचिकृत नगरिएकाले तिरेको करबाट पाउनु पर्ने सेवासुविधा पाउन सकेका छैनन् । पारिश्रमिकबाट कट्टा गरिएको सञ्चय कोषको रकम सम्बन्धित निकायमा जम्मा नगरिएको भन्दै श्रमिक संगठनहरुले सबै चिया श्रमिकहरुलाई अनिवार्य सामाजिक सुरक्षा कोषमा सूचिकृत गर्न माग गरेका छन् । साथै कोरोनाको यस महामारीमा जोखिम मोलेर दैनिक काम गरिरहेका श्रमिकहरुका लागि पर्याप्त सुरक्षाको व्यवस्था नभएको भन्दै महामारीबाट बच्न आबश्यक सुरक्षा सामग्रीको उचित व्यवस्था गर्न माग समेत गरेका छन् । अहिलेको सिजनमा झापामा ५० दखि ६० हजार चिया श्रमिकहरुले श्रम गरिरहेको बताइएको छ । अफसिजनमा ३५ हजार श्रमिकले काम गर्ने गरेको अखिल नेपाल चिया मजदुर संघकी अध्यक्ष सापकोटाले जानकारी दिइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्