झापा, साउन २४ । राष्ट्रिय प्रजातन्त्र पार्टीसँगको एकीकरण प्रक्रियामा नगएका राप्रपा (संयुक्त) को सिंगो झापा जिल्ला समितिसहित क्षेत्रीय समितिले सामूहिक रुपमा पार्टी परित्यागको घोषणा गरेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी र राप्रपा (संयुक्त) बीच गत फागुन २५ गते एकीकरण गर्ने सहमति भएको थियो । राप्रपाका अध्यक्ष कमल थापा तथा राप्रपा (संयुक्त) का अध्यक्षद्वय पशुपतिशमशेर जबरा र प्रकाशचन्द्र लोहनी महाधिवेशन नभएसम्म एकीकृत पार्टीको अध्यक्ष रहने गरी एकताको सैद्धान्तिक सहमति पत्रमा हस्ताक्षर भएको थियो । पार्टीलाई राप्रपामा विलय गर्ने निर्णयप्रति असन्तुष्ट बन्दै राप्रपा (संयुक्त) को सिंगो झापा जिल्ला समिति एकीकरण प्रक्रियामा सामेल भएको थिएन । सोही समूहले आज सामूहिक पार्टी परित्याग गर्दै स्वतन्त्र बस्ने घोषणा गरेको हो ।

समसामयिक राष्ट्रिय राजनीतिमा परिवर्तनलाई आत्मसात गर्न नसकेको र पार्टी पंक्तिमा अनुशासन र वैचारिक सिद्धान्त स्खलन भई प्रजातान्त्रिक मान्यतामा शुन्यप्रायः भएको अनुभूतिले आदर्श र सिद्धान्तबाट विचलन भएको भन्दै राप्रपा (संयुक्त) को २७ सदस्यीय सिंगो झापा जिल्ला समिति र पाँचजना क्षेत्रीय अध्यक्षले प्रेस विज्ञप्ति जारी गरी पार्टी परित्याग गरेको जनाएका छन् । परित्याग गर्नेहरुमा जिल्ला अध्यक्ष ओमप्रकाश मिश्र , उपाध्यक्षहरु चन्द्रबहादुर योङया , विष्णुबहादुर धिमाल, सचिव निरबहादुर कार्की, सहसचिव युद्धप्रसाद लामिछाने, प्रवक्ता लक्ष्मीप्रसाद ढकाल र कोषाध्यक्ष कुलबहादुर धिमाल रहेका छन् । त्यस्तै अन्य २० जना जिल्ला सदस्यहरु रहेका छन् । त्यसैगरी १ नं क्षेत्रीय अध्यक्ष प्रदिप राजवंशी , २ नं क्षेत्रीय अध्यक्ष मनहरि चम्लागाई, ३ नं क्षेत्रीय अध्यक्ष साहिला हेमरम , ४ नं क्षेत्रीय अध्यक्ष केशव राजवंशी र ५ नं क्षेत्रीय अध्यक्ष भुवन बुढाथोकी रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्