बिर्तामोड , साउन २४ । नेपाल प्रजातान्त्रिक महासंघको झापा शाखा गठन भएको छ ।

विभिन्न पेशा, ब्यवसायमा आबद्ध प्रजातन्त्रवादीहरुको शनिबार विर्तामोडमा सम्पन्न भेलाले देवीप्रसाद घिमिरेको संयोजकत्वमा समिति गठन गरेको हो ।
गठित समितिको उपाध्यक्ष विनोद कडुवाल, सचिवमा इन्दु पूर्वेली, सहसचिवमा कृष्णप्रसाद पौडेल, कोषाध्यक्षमा बद्री भट्टराई चयन भएका छन् । समितिको सदस्यहरुमा विनोद गौतम, नारायण कोइराला, यज्ञलक्ष्मी चम्लागाई, नविन सिटौला, पदमप्रसाद पोखरेल र जगतबहादुर मगर रहेका छन् । १७ सदस्यीय रहने उक्त समितिलाई आगामी बैठकले पूर्णता दिने संयोजक देवी घिमिरेले जानकारी दिए ।
नवगठित समितिलाई शुभकामना दिदै कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस झापाका सभापति उद्वव थापाले कार्यकर्ताको समर्थन र लोकतान्त्रिक विचार, नीति तथा सिद्धान्तकै कारण नेपाली जनताको मन मस्तिष्कमा कांग्रेस अब्बल पार्टीका रुपमा स्थापित भएको धारणा राखे ।
नेपाली कांग्रेस २ नं क्षेत्रीय सभापति खगेन्द्र मैनालीले लामो समयसम्म विभिन्न क्षेत्रमा अनुभव बटुलेका अग्रज ब्यक्तित्वहरुको सहभागितामा गठित महासंघले पार्टीले बाटो विराउँदा पनि मार्गदर्शन गर्न सक्ने क्षमता राख्ने बताउँदै समयानुकुल निर्णायक भूमिकामा रहन आह्वान गरे ।
देवी घिमिरेको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल प्रजातान्त्रिक महासंघका प्रदेश कोषाध्यक्ष छत्रबाबु ओझाले केन्द्रमा गोविन्दप्रसाद शर्माको संयोजकत्वमा गठित महासंघले सबै प्रदेशका संयोजक तोकिसकेको र जिल्ला–जिल्लामा समिति विस्तार भइरहेको जानकारी दिए । कार्यक्रमको सञ्चालन इन्दु पूर्वेलीले गरेकी थिइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्