हल्दिबारी , साउन २४ । हल्दिबारी गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङदेनले साउन २६ गतेका लागि बोलाएको गाउँसभाको दोस्रो बैठकमा सहमति जुट्ने छाँटकाँट देखिएको छैन ।

विवाद देखिएको पहिलो बैठकको प्रमाणीकरणका बारेमा गाउँपालिकाका अध्यक्ष लिङदेन र उपाध्यक्ष डम्बर गिरीबीच कुरा नमिलिसकेका कारण दोस्रो बैठक औचित्यपूर्ण हुने कुरामा आशंका देखिएको हो । सातौ गाउँसभाको दोस्रो बैठक संचालनका सम्बन्धमा हिजो कार्यपालिकाको बैठक बोलाइएको थियो । त्यस बैठकमा दुवै पक्ष आ—आफ्नो अडानमा कायम रहे । अध्यक्ष लिङदेनले पहिलो बैठकमा उपाध्यक्षले बजेट, नीति तथा कार्यक्रम प्रमाणीकरण गरेर त्रुटी गरेको भन्दै त्यसलाई सच्याएर अर्को बैठक गर्नु पर्ने तर्क गर्दै आएका छन् भने उपाध्यक्ष गिरीले पहिलो बैठक र त्यसले गरेका कार्वाहीलाई चलाउन नहुने अडान राख्दै आएका छन् ।आज प्रतिदिनसँग कुरा गर्दै अध्यक्ष लिङदेनले स्थानीय सरकार संचालन ऐनअनुसार गाउँसभाको अध्यक्षता आफूले गरिसकेपछि कार्यक्रम छोडेर गएपनि कार्यक्रम अध्यक्षको हैसियतले प्रमाणीकरण पनि आफैले गर्न पाउनु पर्ने प्रावधान रहेको दावी गरे । उनले उपाध्यक्षले पहिलो बैठकमा बजेट , नीति तथा कार्यक्रम पेस गरिसकेकाले अब त्यसपछिको अबस्थाबाट दोस्रो बैठक शुरुवात गर्दा उचित हुने धारणा राखे । गाउँपालिका र गाउँपालिकाबासीलाई बन्धक बनाउन नहुने भन्दै दुवै पक्षले सच्चिएर जान तयार रहेको बताइरहँदा आ—आफ्नो अडान भने अझै त्याग्न सकेका छैनन् । असार १० गते डाकिएको सातौं गाउँसभाका क्रममा दुवै पक्षको अहम्ताका कारण सो विवाद भएको थियो । अझै दुवै पक्षको अडान र अहम्ता कायम रहेकाले साउन २६ गतेको दोस्रो बैठकमा पनि त्यस किसिमको अप्रिय घटना नघट्ला भनेर भन्न सकिन्न ।

१ प्रतिक्रिया

  1. दुबैजना आला काँचा परे त्यसैले बहुमत र ब्यक्तिगत दंम्भ उनिहरुमा हुनु स्वभाभिक हो। तर सहमतिको बिन्दु नै नहुने भन्ने चाँही हुदैन। यथाशिघ्र सहमति होस नागरिकलाई दिने सेवा र सुबिधा चाँडो खुलोस। हल्दिबारिका जनताले चासो र अर्थपुर्ण रुपले नियाली रहेका छन।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्