झापा, साउन २५ । सामूहिक रुपमा पार्टी परित्यागको घोषणा गरेको राप्रपा (संयुक्त) को सिंगो झापा जिल्ला समिति नेपाली कांग्रेसमा प्रवेश गर्ने भएको छ ।

पार्टीलाई राप्रपामा विलय गर्ने निर्णयप्रति असन्तुष्ट बन्दै राप्रपा (संयुक्त) को सिंगो झापा जिल्ला समितिले हिजो सामूहिक पार्टी परित्याग गर्दै स्वतन्त्र बस्ने घोषणा गरेको थियो । समसामयिक राष्ट्रिय राजनीतिमा परिवर्तनलाई आत्मसात गर्न नसकेको र पार्टी पंक्तिमा अनुशासन र वैचारिक सिद्धान्त स्खलन भई प्रजातान्त्रिक मान्यतामा शुन्यप्रायः भएको अनुभूतिले आदर्श र सिद्धान्तबाट विचलन भएको भन्दै राप्रपा (संयुक्त) को २७ सदस्यीय सिंगो झापा जिल्ला समिति र पाँचजना क्षेत्रीय अध्यक्षले प्रेस विज्ञप्ति जारी गरी पार्टी परित्याग गरेका थिए । राप्रपा (संयुक्त) परित्यागको घोषणा गर्नु अघिदेखि नै सिंगो जिल्ला समितिलाई कांग्रेसमा प्रवेश गराउने विषयमा छलफल भइरहेको नेपाली कांग्रेस बिर्तामोडका नगर सभापति भोजराज सिटौलाले बताए । उनले अनौपचारिक छलफल भइरहेपनि अन्तिम निर्णय भने भइनसकेको जानकारी दिए । बिर्तामोड ३ का वडाध्यक्षसमेत रहेका सिटौलाका अनुसार पार्टी परित्याग गर्ने राप्रपा (संयुक्त) का जिल्ला अध्यक्ष ओमप्रकाश मिश्रले ३ हजारभन्दा बढीलाई सामूहिक रुपमा कांग्रेसमा प्रवेश गराउने तयारी भइरहेको जनाएका छन् ।
पार्टी परित्याग गर्ने प्रवक्ता लक्ष्मी ढकालले आफूहरु लोकतन्त्रप्रति आस्था राख्ने भएकाले लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसमै प्रवेश गर्ने विषयमा छलफल भइरहेको बताए । उनले लकडाउन खुलेपछि पार्टी परित्याग गर्नेहरुको भेला बोलाउने र त्यस भेलामा सहमति गरी सामूहिक रुपमा पार्टी प्रवेश गर्ने योजना बनाएको सुनाए । कांग्रेसमा प्रवेश गर्ने विषयमा छलफल भइरहेपनि नवप्रवेशीहरुलाई कांग्रेसले दिने पदको बारेमा टुंगो भइनसकेको ढकालले बताए । हिजो जिल्ला अध्यक्ष मिश्र , उपाध्यक्षहरु चन्द्रबहादुर योङया , विष्णुबहादुर धिमाल, सचिव निरबहादुर कार्की, सहसचिव युद्धप्रसाद लामिछाने, प्रवक्ता ढकाल र कोषाध्यक्ष कुलबहादुर धिमालले पार्टी परित्याग गरेका थिए । त्यस्तै परित्याग गर्नेमा अन्य २० जना जिल्ला सदस्यहरु रहेका छन् । त्यसैगरी १ नं क्षेत्रीय अध्यक्ष प्रदिप राजवंशी , २ नं क्षेत्रीय अध्यक्ष मनहरि चम्लागाई, ३ नं क्षेत्रीय अध्यक्ष साहिला हेमरम , ४ नं क्षेत्रीय अध्यक्ष केशव राजवंशी र ५ नं क्षेत्रीय अध्यक्ष भुवन बुढाथोकीले पनि पार्टी छोडेको घोषणा गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्