झापा , साउन २५ । एकजना सशस्त्र प्रहरीसहित आज झापामा पाँचजना कोरोना संक्रमित थपिएका छन् ।

संक्रमण पुष्टि हुनेमा पाथीभरा सशस्त्र प्रहरी गण पाडाजुंगीका एक सशस्त्र प्रहरी रहेका छन् । यसअघि सोही गणका तीनजना सशस्त्र प्रहरीलाई कोरोना देखिएको थियो । यसअघि संक्रमण देखिएका व्यक्तिसंगको कन्ट्याक्ट ट्रेसिङका आधारमा स्वाव संकलन गरी गत बुधबार परीक्षणका लागि प्रयोगशाला पठाइएको थियो ।
दमकस्थित क्वारेन्टाइन व्यवस्थापन समितिका सदस्य कुवेर भट्टराईले ती सशस्त्र प्रहरीको पिसिआर रिपोर्ट पोजिटिभ आएको पुष्टि गरे । दमकमा स्वाब संकलन गरिएका १०७ मध्ये ४७ जनाको रिपोर्ट आएको र एक जनाबाहेक अन्य ४६ नेगेटिभ रहेका छन् ।
९६ जनाको नमुना संकलन
शनिबार दमकमा गरिएको मास टेस्टिङका क्रममा ९६ जनाको नमुना संकलन गरिएको छ । नगर प्रमुख रोमनाथ ओलीसहित जनप्रतिनिधि, उद्योगी व्यवसायी, राजनीतिक दलका नेता, पत्रकारको नमुना संकलन गरिएको हो । दमक चौकको एक होटलको क्वारेन्टाइन र दमक ४ स्थित दाहाल प्रतिष्ठानको क्वारेन्टाइनमा मास टेस्टिङ गरिएको थियो । स्वाव संकलन गरिएका उनीहरुको रिपोर्ट बिहिबारसम्म आउने नगरपालिकाले जनाएको छ ।
दमकमा बनाइएका क्वारेन्टाइनमा हाल ७ महिलासहित कूल ३५ जना रहेका सदस्य भट्टराईले जनाएका छन् । तीमध्ये १३ जनाको नमुना संकलन भइसकेको छ । अन्यको आउँदो बुधबार संकलन गरिने जनाईएको छ ।
त्यस्तै आइतबार बाह्रदशी गाउँपालिका ६ की एक महिला र सोही गाउँपालिका वडा नं १ का एक पुरुषमा संक्रमण देखिएको छ । ती महिला भारतको सिलिगुडी र पुरुष पन्जाबबाट फर्केर पशुपति मावि क्वारेन्टाइनमा बसेका थिए । चार दिनअघि बाह्रदशीका ४५ जनाको पिसिआर परीक्षणका लागि स्वाब संकलन गरिएको थियो । त्यसमध्ये दुईजनाको रिपोर्ट पोजिटिभ आएको हो । आइसोलेसन वार्ड खाली नभएका कारण संक्रमितहरुलाई आइतबार बाह्रदशीमै राखिने भएको छ । उनीहरुलाई क्वारेन्टाइन रहेको पशुपति माविको अर्को भवनमा आइतबार राखेर सोमबार विराटनगर लगिने बाह्रदशी ३ की वडा सदस्य लक्ष्मी निरौलाले बताइन् त्यस्तै अर्जुनधारा नगरपालिकाका दुईजना पुरुषमा संक्रमण देखिएको छ । उनीहरु भारतबाट आएर स्थानीय क्वारेन्टाइनमा बसेको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्