झापा, साउन २५ । राष्ट्रिय चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीको योग्यता नपुगेको भन्दै बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा परेको रिटमा सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको छ । आइतबार सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीको इजलासले गिरीलाई नियुक्ति गर्नुको कारण देखाउ आदेश जारी गरेको हो । त्यस्तै सर्वोच्चले गिरीलाई सात दिनभित्र उपस्थित हुन पनि आदेश दिएको छ ।
बिहीबार उपाध्यक्ष गिरीविरुद्धको रिट निवेदन सर्वोच्च अदालतमा दर्ता भएको थियो । गत आइतबार न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र सुष्मालता माथेमाको सयुक्त इजलाशले यसअघि सर्वोच्च प्रशासनले दरपिट गरेको उक्त रिट निवेदन दर्ता गरेर सुनुवाई गर्न आदेश दिएको थियो । अधिवक्ता नरेश भट्टले पेश गरेको रिट निवेदनमा आयोगका उपाध्यक्ष डा. गिरीको कानुन अनुसार योग्यता नपुगेको भन्दै नियुक्ति बदरको माग गरिएको छ ।

निवेदनमा डा.गिरीको नियुक्ति गैरकानुनी भएको भन्दै अहिलेसम्म उक्त पदमा बस्दा लिएको तलव र भत्ता पनि फिर्ता गर्न माग गरिएको छ । डा.गिरीको नियुक्ति हुनुअघिनै व्यवस्थापिका संसदमा उनको योग्यता नपुगेको भन्दै विरोध समेत भएको थियो । चिकित्सा शिक्षा राष्ट्रिय प्रतिष्ठान (न्याम्स)मा कार्यरत गिरी त्यहाँ पनि विवादमा मुछिएका थिए । त्यस्तै गिरी झापाको विर्तामोडस्थित विएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईँसँग कलेजको सम्बन्धन दिन २० करोड रुपैयाँ घुस मागेको भन्दै विवादमा तानिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्