हल्दिबारी , साउन २६ । विवादका बीच हल्दिबारी गाउँपालिकाको सातौं गाउँसभाको दोस्रो बैठक आज बोलाइएको छ ।

दोस्रो बैठकको कार्यसूचीलाई लिएर विवाद हुने देखिएको छ । त्यस बिषयमा हिजो बसेको कार्यपालिका बैठकमा सहमति बन्न सकेन । गाउँपालिका अध्यक्ष रविन्द्र लिङदेनले पहिलो बैठकमा पेस भएको बजेट, नीति तथा कार्यक्रममाथिको दफावार छलफलबाट दोस्रो बैठक प्रारम्भ गर्ने गरी कार्यसूची बनाएका छन् । तर, त्यसलाई उपाध्यक्ष डम्बर गिरीसहित नेकपा समर्थक जनप्रतिनिधिहरु मान्न तयार देखिएका छैनन् । उपाध्यक्ष गिरीले पहिलो बैठक र त्यसले गरेका कामकार्वाहीलाई चलाउन नहुने अडान राख्दै आएका छन् । असार १० गतेको गाउँसभाको पहिलो बैठकले प्रमाणित गरिसकेको निर्णयलाई यथावत राख्दै त्यसपछिको कामकार्वाही अगाडि बढाउनु पर्ने गिरीको भनाइ छ । नेकपाको हल्दिबारी कमिटीको हिजो बसेको बैठकले पनि पहिलो बैठकले गरेका निर्णयलाई सदर राख्नेगरी दोस्रो बैठक संचालन गर्नु पर्ने निश्कर्ष निकालेको छ । पहिलो बैठकको प्रमाणीकरणका बारेमा गाउँपालिकाका अध्यक्ष लिङदेन र उपाध्यक्ष गिरीबीच कुरा नमिलिसकेका कारण दोस्रो बैठक औचित्यपूर्ण हुने कुरामा आशंका देखिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्