गौरादह ,साउन २७ । हिजो कोरोना संक्रमण पुष्टि भएका गौरादह नगरपालिकाका दुई सशस्त्र प्रहरीको सम्पर्कका आएका एक सयजनाको कन्ट्याक्ट ट्रेसिङ गरिएको छ ।

ती सशस्त्र प्रहरीको क्लोज कन्ट्याक्टमा आएका ५५ जना र उनीहरुको पनि सम्पर्कमा आएका अन्य ४५ जनाको कन्ट्याक्ट ट्रेसिङ गरिएको हो । कन्ट्याक्ट ट्रेसिङ गरिनेमा ५ जना सशस्त्र प्रहरी पनि रहेका छन् । संक्रमितहरुको ट्राभल हिष्ट्री पत्ता लगाएर सम्पर्कमा आएका ब्यक्तिहरुको आज विहान ८ देखि १२ बजेसम्म कन्ट्याक्ट ट्रेसिङ गरिएको गौरादह नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख गोविन्द श्रेष्ठले बताए । उनले संकलित स्वाब परीक्षणका लागि मेची प्रादेशिक अस्पताल भद्रपुरमा पठाइएको जानकारी दिए । गौरादह ७ घर भएका ती सशस्त्र प्रहरी इलामबाट साउन १५ गते फर्केका थिए । उनीहरुको स्वाब २० गते संकलन गरी परीक्षणका लागि पठाइएको थियो । जसको रिपोर्ट हिजो पोजिटिभ आएको हो । घर फर्किएर ती सशस्त्र प्रहरीले आफन्त भेट्ने, मलामी जाने, होटलमा खाजा खानेजस्ता काम गरेको ट्राभल हिष्ट्रीमा उल्लेख छ । सशस्त्र प्रहरीसहित ५ जनामा हिजो कोरोना पुष्टि भएपछि समुदायस्तरमा संक्रमण फैलिने जोखिम बढेको हो । नगरपालिकामा सोमबार बसेको सर्वपक्षीय बैठकले वडा नं. ६,७,८,५ र ३ मा राति १२ बजेदेखि लागु हुने गरी पूर्णरुपमा सिल गरेको छ । नगरपालिकाले वडा नं. ६ र ७ पुरै तथा वडा नं ८, ५ र ३ को केही क्षेत्र संक्रमितहरुको सम्पर्कमा आएका ब्यक्तिहरुको स्वाव परीक्षणको परिणाम नआउन्जेलसम्मका लागि सिल गर्ने गरिएको प्रमुख प्रशासकीय अधिकृत खेम ओझाले बताए ।
हिजो गौरादहमा दुई सशस्त्र प्रहरीसहित पाँचजनामा संक्रमण देखिएको हो । संक्रमितहरुलाई गौरादह ७ स्थित जुरोपानी स्वास्थ्य चौकीको भवनमा राखिएको छ । त्यस भवनलाई आइसोलेसन सेन्टर बनाउन लागेको स्वास्थ्य शाखा प्रमुख श्रेष्ठले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्