झापा , साउन २८ । अस्पतालमा रहेका आइसोलेसन सेन्टरमा कोरोना संक्रमितहरु राख्ने ठाउँ नभएपछि झापाका स्थानीय तहहरुले आआफ्नो पालिकामा धमाधम आइसोलेसन सेन्टरको व्यवस्था गर्न थालेका छन् ।

गौरादहको आइसोलेसन सेन्टर

जिल्लाको मेचीनगर, गौरादह र अर्जुनधारा नगरपालिकाले आफ्नै क्षेत्रमा आइसोलेसन सेन्टरको व्यवस्था गरेका हुन् । पहिलोपटक मेचीनगर नगरपालिकाले आइसोलेसन सेन्टरको व्यवस्था गरेको हो । मेचीनगर नगरपालिकाको वडा नं १३ मा ३२ बेडको मिनी आइसोलेसन सेन्टरको व्यवस्था गरिएको नगरपालिकाका सामाजिक विकास शाखाका प्रमुख नवीन बरालले बताए । अहिले त्यस आइसोलेसन सेन्टरमा ८ जना संक्रमित रहेका छन् । ‘विराटनगर , धरान , भद्रपुरलगायतका अस्पतालका आइसोलेसन सेन्टरमा ठाउँ नभएको अबस्थामा आफ्नै आइसोलेसन सेन्टर नबनाएको भए निकै समस्या पथ्र्यो’ बरालले भने,‘ त्यसलाई विचार गरेर बेलैमा बनायौं समस्या भएन ।’ मेचीनगरकै आइसोलेसन सेन्टरमा बिर्तामोडका एकजना संक्रमितलाई पनि राखिएको छ । मेचीनगरमा समुदाय र क्वारेन्टाइनमा बसेका गरी एक सयजनामा संक्रमण पुष्टि भइसकेको छ ।
त्यस्तै गौरादह नगरपालिकाले पनि ५० बेडको आइसोलेसन सेन्टर निर्माण गर्दैछ । जुरोपानी स्वास्थ्य चौकीको नयाँ भवनमा ३० बेडको आइसोलेसन सेन्टर तयारी गरिसकेको गौरादह नगरपालिकाले स्कूलचौन हेल्थपोष्टमा थप २० बेडको आइसोलेसन सेन्टर खोल्न लागेको जनाएको छ । जुरोपानी स्वास्थ्य चौकीको आइसोलेसन सेन्टरमा गौरादहका पाँचजना कोरोना संक्रमित रहेका छन् । ‘ अस्पताल खाली नभएको अबस्थामा हामीले होल्डिङ आइसोलेसन सेन्टर बनाएका हौं’ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेम ओझाले भने , ‘अस्पताल खाली नहुन्जेल संक्रमितहरुलाई यहीँ राख्छौं ।’ उनले आइसोलेसन सेन्टरमा खाने बस्नेसँगै संक्रमितहरुलाई हेरचाह गर्ने स्वास्थ्यकर्मीको समेत व्यवस्था गरिएको जानकारी दिए । त्यसैगरी गौरादह नगरपालिकाले विद्यालयमा रहेका क्वारेन्टाइनहरुलाई सार्ने तयारी गरेको छ ।अहिले ६ वटा विद्यालयमा क्वारेन्टाइन राखिएको छ । ती क्वारेन्टाइनलाई सारेर विद्यालय खाली गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत ओझाले बताए । ‘ हामी विद्यालयमा रहेका सबै क्वारेन्टाइन सार्दैछौं ’ उनले भने,‘ सारेर महारानीझोडाको नमूना कृषि पाहुना घर र गौरादह ७ को सामुदायिक भवनमा सय बेडको क्वारेन्टाइन राख्दैछौं ।’
त्यसैगरी अर्जुनधारा नगरपालिकाले पनि वडा नं ४ मा रहेको स्वास्थ्य चौकीमा आइसोलेसन सेन्टरको व्यवस्था गर्न लागेको जनाएको छ । त्यहाँ १४ बेडको आइसोलेसन बनाउन लागिएको नगर प्रमुख हरि रानाले बताए । उनले भदौ १५ भित्र विद्यालयमा रहेका सबै क्वारेन्टाइनहरुलाई हटाउने कार्य शुरु गरिएको पनि जानकारी दिए । कोरोना संक्रमित बढ्दै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमितलाई ‘होम आइसोलेसन’ मा राख्ने अवधारणा अघि सारेको छ। संक्रमितको संख्यालाई क्षमताले नधान्ने भएसँगै मन्त्रालयले ‘होम आइसोलेसन’मै संक्रमित राख्ने तयारी गरेको हो । होम आइसोलेसनको अवधारणा आइसकेको अबस्थामा पालिकास्तरमा आइसोलेसन खोल्न अति आबश्यक भइसकेको जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन जीवन चौलागाईले बताए ।उनले जिल्लाका १५ वटै पालिकाहरुलाई आआफ्नो आइसोलेसन सेन्टरको व्यवस्था गर्न लगाउने गरी निर्णय गर्न लागेको जानकारी दिए । ‘अस्पतालमा ठाउँ छैन’ उनले भने ,‘ अब आफ्नो विरामी आफै राख्ने हो ।’

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्