झापा, साउन २८ । सोमबारदेखि हराइरहेका पत्रकार बलराम बानियाँको शव भेटिएको छ । बानियाँको शव मकवानपुरको सिस्नेरीस्थित माण्डो जलविद्युत आयोजनामा भेटिएको अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी दीपक थापाले जानकारी दिए । परिवारका सदस्यलाई फोटो देखाएर शवको सनाखत गरिएको उनले बताए ।
बानियाँ दुई दिनदेखि घर नफर्किएको भन्दै परिवारले महानगरीय प्रहरी परिसर, काठमाडौं र अपराध अनुसन्धान महाशाखा, बानेश्वरमा उजुरी दिएको थियो । अपराध महाशाखाले बानियाँको मोबाइल फोनको प्राविधिक विश्लेषणको आधारमा उनको खोजी थालेको थियो । उनको मोबाइल सोमबार दिउँसो १ बजे बल्खु खोला छेउबाट स्वीच अफ भएको थियो ।
अनुसन्धान अधिकृतका अनुसार सोमबार दिउँसो ३ः२३ मा बानियाँ बल्खु खोलाको पुलमुनि देखिएका थिए । बाटो छेउबाट हिलैहिलो उनी हिँडेको देखेपछि स्थानीयले त्यता नजान भनेका थिए । खोलामा हराएको हुनसक्ने आशंकामा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले उनको खोजी थालेको थियो । खोला किनारमा भेटिएको जुत्ता बानियाँकी छोरीले बुबाकै भएको पुष्टि गरेकी थिइन् । पत्रकार बानियाँ कान्तिपुर दैनिकका सहायक सम्पादक हुन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्