दमक ,साउन ३० । नेपाल विद्युत प्राधिकरण दमकका पाँच कर्मचारीसहित दमकका ७ जनालाई आज कोरोना संक्रमण पुष्टि भएको छ ।

दमकमा एकैपटक यतिका संख्यामा पहिलोपटक संक्रमण देखिएको हो ।दमक नगरपालिका स्वास्थ्य शाखाका अनुसार संक्रमितमध्ये पाँचजना नेपाल विद्युत प्राधिकरण दमक वितरण केन्द्रमा कार्यरत कर्मचारी रहेका छन् । ती कर्मचारीमध्ये एक महिला रहेकी छन् । कोरोनाको हटस्पट बनेको विराटनगर आवतजावत गरेका कारण प्राधिकरणका कर्मचारीमा संक्रमण फैलिएको हुनसक्ने आशंका गरिएको छ ।त्यस्तै दमक ७ की एक किशोरीमा संक्रमण देखिएको छ । दमक नगरपालिकाका स्वास्थ्य शाखाका अधिकृत नगेन्द्र भट्टराईका अनुसार १६ वर्षिया ती किशोरी भारतबाट फर्केर होम क्वारेन्टाइनमा बसेकी थिइन् । त्यस्तै उपचारका लागि धुलिखेल गएका दमक ५ का एक पुरुषमा पनि संक्रमण देखिएको शाखा अधिकृत भट्टराईले बताए । गत बुधबार १०७ जनाको मास टेस्टिङ गरी पिसिआर परीक्षण गर्दा ती ६ जनाको रिपोर्ट पोजेटिभ आएको उनले जानकारी दिए । विराटनगरको प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा बाँकी अन्यको रिपोर्ट भने नेगेटिभ आएको छ ।
दमकमा बिहीबार गरिएको अझै २ सय जनाको पिसिआर परीक्षणको रिपोर्ट आउन बाँकी रहेको जनाईएको छ ।
दमकमा आंशिक लकडाउन
कोरोना भाइरस समुदायस्तरमा संक्रमण फैलिन सक्ने जोखिम भएको भन्दै दमक नगरपालिकाले शुक्रवारदेखि आंशिक लकडाउन गरेको छ ।कोरोना भाइरस रोकथाम तथा नियन्त्रण समन्वय समितिको बैठकले नगरभित्र जोखिम नियन्त्रणका लागि शुक्रबारदेखि दमक प्रवेशमा कडाई गर्नुका साथै पसलहरु समेत निश्चित समयसम्म मात्र खोल्न पाउने निर्णय गरेको छ ।
नगरपालिकाकी प्रवक्ता तथा उपमेयर गीता अधिकारीले विज्ञप्ति निकालेर नगरभित्र हुन सक्ने जोखिम नियन्त्रणका लागि विभिन्न निर्णयहरु गरिएको उल्लेख छ । जसअनुसार दैनिक सञ्चालनमा आएका औषधी पसलवाहेक अन्य पसल तथा व्यवसायहरु विहान ८ वजेदेखि अपरान्ह ४ वजेसम्म मात्र खुलाउने निर्णय गरिएको छ । आफ्ना व्यवसाय सञ्चालन गर्दा व्यवसायी तथा उपभोक्तालाई स्वास्थ्य सुरक्षा अपनाउन आग्रह गरिएको छ ।
त्यस्तै बैक तथा वित्तीय संस्थाहरुले आलोपालो गरी कारोवार सञ्चालन गर्ने, विहान र राति अनावश्यक हिडडुलमा कडाई गरिने, चाडपर्व ,नाचगान, मेलापात, गोष्ठी ,सभा समारोह लगायतका भीडभाड हुने कार्य भदौ मसान्तसम्म गर्न रोक लगाईएको विज्ञप्तिमा जनाईएको छ । त्यस्तै १० जनाभन्दा बढी भेला भएर कुनै कार्य गर्न,गराउन तथा मलामी जाँदा २५ जनाभन्दा बढी जान नपाईने,सिटी सफारीमा सवार हुँदा दुई जनाभन्दा बढी यात्रु राख्न नपाउने ,मोटरसाईकलमा एक जनाभन्दा बढी चढ्न पूर्णरुपले वन्देज लगाइएको छ । यसैगरी भदौ १५ सम्ममा बाहिरवाट अत्यावश्यक कामबाहेक कसैलाई पनि दमक आउन नपाउने तथा आउन परे वडा कार्यालयको सिफारिस अनिवार्य लिन लगाउने समेत निर्णय भएको छ ।
बैक तथा वित्तीय संस्थाहरु ‘आलोपालो’
बैक तथा वित्तीय संस्थाहरुमा भीडभाड हुने र त्यसले जोखिम निम्त्याउन सक्ने भएकाले दमक नगरभित्रका बैक तथा वित्तीय संस्थाहरु आलोपालो गरी दैनिक कार्य सञ्चालनमा आएका छन् । नगरपालिकाले बढ्दो संक्रमण हुन नदिनका लागि शुक्रबारदेखि फेरि आलोपालो हुने गरी बैक तथा वित्तीय संस्थाहरु सञ्चालन गराउने निर्णय भएको नगरपालिकाकी प्रवक्ता तथा उपमेयर गीता अधिकारीले बताईन् । निर्णयसंगै अव बैक तथा वित्तीय संस्थाले अन्य दिन सरह खोल्न पाउने छैनन् ।
कमल गाउँपालिका बन्द
यसैबीच दमकसंग जोडिएको कमल गाउँपालिकासहित सातवटै वडा कार्यालयहरु शुक्रबारदेखि बन्द भएका छन् ।
गाउँपालिका कार्यालयसगै रहेको क्यान्टिन सञ्चालन गर्दै आएका ब्यक्तिहरु कोरोना संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेकाले उनीहरुको पिसिआर परीक्षण गर्नुपर्ने हुँदा अर्को सूचना जारी नहुन्जेलसम्म सेवा बन्द गरिएको हो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठद्वारा जारी गरिएको सर्कुलरमा कतिपय जनप्रतिनिधिहरुको समेत पिसिआर परीक्षण गर्नुपर्ने भएकाले ती रिपोर्टको नतिजा नआइन्जेल कार्यालयहरु समेत बन्द रहने उल्लेख छ ।
त्यस्तै,संक्रमणबाट जोगिन स्वास्थ्य सुरक्षाका उपायहरु पालना गर्न पनि वडाबासीहरुसंग आग्रह गरिएको छ । त्यस गाउँपालिकामा आंशिक लकडाउन छ । त्यसैगरी शिवसताक्षी नगरपालिकमा शुक्रबार एकजना संक्रमित थपिएका छन् । शिवसताक्षी ८ का २३ वर्षिय युवन भारतबाट फर्किएर क्वारेन्टाइनमा बसेका थिए । त्यस्तै भद्रपुरका थप दुईजना सशस्त्र प्रहरीमा कोरोना देखिएको छ । १३ जना सशस्त्र प्रहरी स्वाब संकलन गरी परीक्षण गर्दा ती दुईजनाको रिपोर्ट पोजिटिभ आएको हो । योसँगै झापामा कोरोना संक्रमितको सँखया ४२९ पुगेको छ । त्यसमध्ये ३७२ जना निको भएर घर फर्किएका छन् भने ५७ जना उपचाररत रहेको जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन जीवन चौलागाईले बताए ।
प्रदेश १ मा थपिए ९५ संक्रमित
प्रदेश १ मा शुक्रबार ९५ जना कोरोना संक्रमित थपिएका छन् ।
मोरङमा ६२, सुनसरीमा २२ र प्रदेश १ बाहिरका २ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरका १३ महिला र २० पुरुषमा संक्रमण पुष्टि भएको छ । यस्तै, रंगेलीमा ९ महिला र १९ पुरुष, सुन्दरहरैचाका १ पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । यसैगरी, सुनसरीको दुहवीका २ महिला र ११ पुरुष, घुस्कीका ३ पुरुष, इटहरीका २ पुरुष, धरानका १ महिला र १ पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । सुनसरीकै देवानगञ्जका १ पुरुष र रामधुनीका १ महिलामा संक्रमण पुष्टि भएको छ ।
प्रदेश १ बाहिरका सिरहा र धनुषाका १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार ८ सय २१ पुगेको छ । प्रदेश १ बाट आज ३५ जना डिस्चार्ज भएका छन् । मेची अस्पताल झापाबाट १७, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट १२ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ६ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज भएकाहरु झापाका १५, मोरङका १४, इलामका ४ र सुनसरीका २ जना रहेका छन् । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या १ हजार ७५ पुगेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्