मनिषा चम्लागाईँ । झापा । झापा बिर्तामोडका महिलाले चाडपर्वलाई लक्षित गरी सयपत्री फूल लगाएका छन् । चाडपर्वमा फूलको माग बढ्ने हुँदा विगत ३ वर्षदेखि फूल खेती गर्दै आएका छन् । अन्य वर्षभन्दा यस वर्ष कोरोना कहरका कारण स्वदेशमै उत्पादित फूलले राम्रो बजार पाउने उनीहरुको बिश्वास छ । बिर्तामोड–४मा १ विगाह ५ कठ्ठा जग्गा भाडामा लिएर सयपत्री फूल खेती गरेको बिर्तामोडकी गोमा भट्टराईले बताइन् । “अहिले फूल रोप्नका लागि आधुनिक प्रवृतिको ड्याङ बनाउन, उत्पादित सयपत्रीको बिरुवा बेच्न व्यस्त छौँ” उनले भनिन्, “आफैँले तयार पारेर रोपेको बिरुवा २ महिना पछि फुल्न थाल्छ ।”
उनीहरुले गत वर्ष नै फूल खेतीसम्बन्धी तालिम लिएरै काम सुरु गरेका हुन् । उनीहरु आफूलाई आवश्यक बिरुवा आफैँ उत्पादन गर्छन् । बिक्रीका लागि ५० हजार बिरुवा नर्सरी गरिएको भट्टराईले बताइन् । यस वर्ष उनीहरुले २० हजार बिरुवा लगाएका छन् । प्रत्येक बोटबाट औसतमा पाँचवटा माला उत्पादन हुने गरेको छ ।


आयआर्जनको प्रमुख स्रोत फूल खेती हुने कुरामा उनीहरु बिश्वस्त छन् । उनीहरु भन्छन् “तिहारमा सयपत्री फूलले राम्रो बजार पाउने भएपनि तिहार अघिदेखि नै फूलको माग हुने गर्छ, यस वर्ष कोरोना कहरका कारण हामीले उत्पादन गरेको फूल नै पहिलो प्राथमिकतामा पर्छ भन्ने कुरामा हामी बिश्वस्त छौँ ।” सयपत्री फूल खेतीका लागि ४ महिना खट्नसके राम्रो आम्दानी लिन सकिने उनीहरुको भनाइ छ । बीउ र भाडामा लिएको जग्गाको मूल्य जोड्दा वर्षमा १ लाख रुपैयाँसम्म खर्च हुने भट्टराईले जनाइन् । उनीहरुले कलकते लोकल जातको सयपत्री रोपेका छन् । झापाको मागलाई धान्न १५ विगाह क्षेत्रफलमा फूल खेती गर्न आवश्यक रहेको भट्टराईले जनाइन् ।
फूल खेतीमा ६ जना महिला अहोरात्र खटेका छन् । भट्टराईसँगै बिर्तामोडकै सुस्मा भण्डारी, नैनकला भट्टराई, यसोदा चापागाईँ, सर्मिला अधिकारी र कञ्चना बरालको साझेदारी रहेको छ । उनीहरुले फूल रोप्ने समयमा २० देखि २५ जनालाई दैनिक ज्यालादारीमा रोजगारी दिने गरेका छन् । टिप्ने समयमा पनि केही कामदार आवश्यक पर्र्ने गर्छ । आफूले उत्पादन गरेको फूलले तिहारको समयमा बिर्तामोड बजारको मागलाई धान्न सक्ने नैनकला भट्टराई बताउँछिन् । विगतका वर्षमा उनीहरुले माला प्रतिगोटा ६० रुपैयाँका दरले बिक्री गरेका थिए । गड्यौला मलको प्रयोग गरेकाले फूल अर्गानिक हुने भट्टराईले सुनाइन् । चाडपर्वको समयमा बिर्तामोडमा बिक्री केन्द्र स्थापना गरेर फूल बेच्ने योजना उनीहरुले बनाएका छन् । उत्पादित फूलले बिर्तामोडको माग धान्नसक्ने उनीहरुको भनाइ छ ।
नेपाली बजारमा भारतको फूलले राम्रो पकड जमाउँदै आएको छ । नेपालमा व्यावसायिक फूल खेती गर्नेको संख्या कमै छ । तर, भारतमा भने अत्याधिक फूल उत्पादन हुने गर्दछ । जसका कारण भारतले तोकेको मूल्यमा नै फूल बिक्री गर्नु पर्ने बाध्यता रहेको फूल व्यवसायीको भनाइ छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्