झापा, साउन ३२ । सरकारले कोरोना भाइरसबारे सचेतनाका लागि विद्यालय तहका किताबमा सन्देशमुलक जानकारी राखेको छ । किताबको कभरको भित्रपट्टी कोरोना भाइरसका मुख्य लक्षणहरू, लक्षण देखा परेमा नजिकका तोकिएका स्वास्थ्य केन्द्रमा जानुपर्ने र भाइरसबाट बच्ने उपायबारे जानकारी राखिएका छन् ।
पाठ्यक्रम विकास केन्द्रले दिएको जानकारीअनुसार कोरोनाबारे सतर्क रहन किताबमै यस्तो जानकारी राखिएको हो । किताबमा राखिएको जानकारीमा कोरोनाबारे स–चित्र बर्णन गरिएको छ ।

बिरामीदेखि चिकित्सकसम्मका भूमिका अथ्याउने गरी रंगीन चित्र र आवश्यक जानकारी राखिएका छन् । साबुनपानीले हात धुन, मास्क लगाउन, भीडभाडमा नजान र विदेशबाट आएका मानिस अनिवार्य १४ दिन आइसोलेसनमा बस्नुपर्ने जानकारी राखिएको हो ।
पाठ्यक्रम विकास केन्द्रका निर्देशक गणेशप्रसाद भट्टराईका अनुसार यहि शैक्षिक सत्रमा पठनपाठन गर्न पठाइएका किताबमा कोरोनाबारे जानकारी राखिएका हुन् ।
‘कक्षा २, ३, ६ र ११ का किताबको भित्री कभरमा कोरोनाबारे जानकारी राखिएको छ,’ निर्देशक भट्टराईले भने, ‘शिक्षा मन्त्रालयको निर्णयअनुसार कोरोना महामारीबारे विद्यार्थीलाई जानकारी दिने सन्देशमुलक सामग्री राखेको हो ।’ जनक शिक्षा सामग्री केन्द्र र निजी प्रकाशनहरूबाट छापिएका विद्यालयका किताबमा पनि कोरोनाबारे जानकारी राखिएको उनले जानकारी दिए ।

‘कोरोनाबारे राखिएका सन्देश छापिएका किताब विद्यार्थीका हातमा पुगिसकेका छन्,’ उनले भने, ‘कक्षा ६ का केहि किताब पुगेका छैनन् कि !’ कक्षा २ र ३ का परीक्षण किताव एक सय तीन वटा विद्यालयका विद्यार्थीकहाँ पठाइन्छ । नयाँ पाठ्यक्रमअनुसार एक सय तीन विद्यालयमा नयाँ किताव लागू हुँदैछ । साथै कक्षा ६ का किताव २८ वटा विद्यालयमा पठाइएको हो । ‘नयाँ पाठ्यक्रम आइसकेपछि केहि विद्यालयमा परीक्षण गर्छौं । एक वर्ष परीक्षणपछि मात्रै सबै विद्यालयमा पठनपाठनलाई किताब पठाइन्छ,’ उनले भने । यसै वर्ष छापिएका नयाँ कितावमा मात्रै कोरोनाबारे जानकारी राखिएको हो ।

‘सबै किताबमा एकै सन्देश राखिएका छन्, उक्त सन्देश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको हो,’ भट्टराईले भने । उक्त सन्देशमा कोरोनालाई भाइरस नभनेर रोग भनिएको छ ।
सरकारले सरकारी विद्यालयमा पढ्ने विद्यार्थीलाई निस्शुल्क किताव उपलब्ध गराउँदै आएको छ । कोरोनाभाइरसले नयाँ शैक्षिक सत्रका पठनपाठन प्रभावित भएका छन् । सरकारले भदौ १५ गतेदेखि विद्यार्थी भर्ना सुरू गर्ने गृहकार्य गरिरहेको छ । असार १ गतेदेखि वैकल्पिक माध्यमबाट सिकाइ निरन्तरता दिइएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्