झापा , साउन ३२ । भदौ ५ गतेदेखि युरिया मल बिक्रीवितरण गर्नेगरी साल्ट ट्रेडिङ कर्पोरेशन बिर्तामोड शाखाले तयारी थालेको छ ।

मल बिक्रीका लागि डिलरहरुको नामावली भोलिदेखि संकलन गरिन लागिएको हो । सिस्टम बनाएर भदौ ५ गतेबाट युरिया मल बिक्री गर्ने तयारी भइरहेको साल्ट ट्रेडिङ कर्पोरेशन बिर्तामोडले जनाएको छ । साल्ट ट्रेडिङ कर्पोरेशनले मगाएको मल भारतको कोलकाता हुँदै नेपाल आइपुग्न लागेको बताउँदै बिर्तामोड शाखाका प्रमुख देवराज भट्टराईले त्यसको बिक्रीवितरणको लागि सिस्टम बनाउन लागेको जानकारी दिए । उनले साल्ट ट्रेडिङ कर्पोरेशन र कृषि सामग्री संस्थान दुवैको डिलर रहेका सहकारी संस्थालाई मल उपलब्ध गराउने बताए । ‘ हामीले साल्ट ट्रेडिङ कर्पोरेशन , कृषि सामग्री संस्थान र अन्य गरी ७ः३ः१ को अनुपातमा बिक्री गर्ने प्रावधान बनाएका छौं’उनले भने ,‘ एउटा डिलरलाई ५० बोरा मल उपलब्ध गराउँछौं ।’ उनले झापा जिल्लाको लागि ५० हजार बोरा मल मगाएको जानकारी दिए । रासायनिक मल कहीकतैबाट आपूर्ति नभइरहेका बेला त्यति मल किसानका लागि अपुग हुने भएको छ । झापा जिल्लालाई अहिलेको धान बालीका लागि ४ हजार मेट्रिक टन मल आबश्यक छ ।तर, साल्ट ट्रेडिङ कर्पोरेशनले ५० हजार बोरा अर्थात २५ लाख मेट्रिक टन मल मात्र आपूर्ति गर्ने भएको छ । कृषि सामग्री संस्थानले मल आपूर्ति गर्न नसक्ने भएपछि समस्या आएको हो । जिल्ला मलखाद आपूर्ति तथा व्यवस्थापन समितिले केन्द्रसँग ४ हजार मेट्रिक टन मल माग गरेको थियो ।
मल वितरणमा समस्या
विराटनगरबाट एक गाडी युरिया मल साल्ट ट्रेडिङ कर्पोरेशन बिर्तामोडमा आएको चार दिन भइसक्यो । तर,त्यो मल बाँड्न सकिएको छैन । साउन २८ गते विराटनगरबाट ४१५ बोरा मल आएको हो । बाँड्नलाई समस्या हुन्छ भनेर त्यो युरिया मल नबाँडी यतिकै राखिएको शाखा प्रमुख भट्टराईले बताए । ‘त्यो मल बाँड्न थालियो भने लुछाचुँडी हुन्छ ’ उनले भने,‘ त्यही भएर प्रमुख जिल्ला अधिकारीलाई भनेर मल राखिराखेका छौं ।’ प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको जिल्ला मलखाद आपूर्ति तथा व्यवस्थापन समितिले मल आपूर्तिको व्यवस्था मिलाउने गरेको छ । वीरगञ्जबाट थप मल आउने बित्तिकै मल आपूर्ति गर्ने काम शुरु गरिने शाखा प्रमुख भट्टराईले जानकारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्