भद्रपुर, भदौ १ । प्रत्यक्ष जनस्वास्थ्य उपचार सेवामा प्रभाव पर्न थालेको भन्दै नेपाली काँग्रेस झापा क्षेत्र नम्बर ३ ले मेची अस्पतालभित्र राखिएको कोभिड उपचार केन्द्र अन्यत्रै सार्न माग राखेर प्रधानमन्त्री तथा प्रदेश १ कार्यालयलाई ज्ञापनपत्र पठाएको छ ।

झापाको एक मात्र सरकारी अस्पतालका रूपमा रहेको मेची अस्पतालभित्र कोरोना उपचार केन्द्र राखिएपछि रोग सर्ने त्रासले सर्वसाधारण आउन नसकेर उपचार सेवा प्रभावित भएको भन्दै काँग्रेसले कोरोनाको उपचारका लागि अन्यत्र व्यवस्थापन गर्न माग राखेर प्रधानमन्त्री केपी शर्मा ओली तथा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई झापाका प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र पठाएको हो ।
क्षेत्रीय सभापति गणेश पोखरेलको नेतृत्वमा गएको टोलीले बुझाएको ज्ञापनपत्रमा भनिएको छ —‘विभिन्न रोग लागेर आइपुग्ने विपन्न वर्गको उपचार गर्ने एक मात्र सरकारी अस्पतालभित्र कोरोना उपचार केन्द्र समेत राखिएपछि हजारौं नागरिक कोरोना संक्रमण त्रासका कारण सेवा लिन आउन सकेका छैनन् । एउटै भवन, एउटै प्रवेशद्वार, पुरानो तथा साँघुरो उपचार कक्ष भएको अस्पताल परिसरमा कोरोना संक्रमित समेत राखेर उपचार गरिँदा समुदायमा कोरोना फैलन गई भयावह हुने हुँदा व्यवस्थित उपचार केन्द्र निर्माण गरी अन्यत्रै स्थानान्तरण गरेर सर्वसाधारणले अस्पतालमा निर्धक्क भई उपचार लिन आउन सक्ने वातावरण निर्माण गरिदिन माग गर्दछौं ।’
गत बैशाखमा जिल्ला समन्वय समिति, प्रशासन र झापाका राजनीतिक दलको सिरफारिसमा प्रदेश सरकारले मेची अस्पतालको निर्माणाधीन भवनमा कोरोना उपचार अस्पताल र जनस्वास्थ्य कार्यालयको तालिम भवनमा पिसिआर परीक्षण प्रयोगशाला बनाउने निर्णय गरेको थियो । तर, सो ठाउँमा भविष्यमा प्रत्यक्ष असर पर्ने भन्दै स्थानीयबासीले अस्पताल परिसरमा प्रयोगशाला र कोरोना उपचार केन्द्र बनाउन जोखिम हुने भन्दै सरकारी निर्णयबिरूद्ध आन्दोलन समेत गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्