बिर्तामोड, भदौ १ । कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले जनस्तरबाट झापाको कनकाई नगरपालिका– ४ कोटिहोममा स्थापित पीसीआर ल्याव चाँडोभन्दा चाँडो सञ्चालनमा ल्याउन सरकारलाई आग्रह गरेका छन् । ‘एकका लागि एक’ अभियानको अगुवाईमा कोटीहोमको समर्पण राष्ट्रिय अभियानको भवनमा रहेको ल्यावको निरीक्षण गर्दै पूर्व उपप्रधानमन्त्री समेत रहेका सिटौलाले यस्तो आग्रह गरेका हुन् ।
जनस्तरबाट झापाको कनकाई नगरपालिका – ४ कोटिहोममा पीसीआर ल्याव स्थापना हुनु झापाको मात्र नभएर देशकै लागी नमूनायोग्य काम भएको वताउँदै उनले कोटिहोममा स्थापित पीसीआर ल्यावलाई सिघ्र सञ्चालन गर्न सरकारलाई आग्रह गरे ।


अन्य स्थानको ल्याव भन्दा कनकाईको पीसीआर ल्याव निक्कै राम्रो व्यवस्थापनका साथ स्थापित भएको बताउँदै सिटौलाले कोरोना भाइरसको संक्रमणका कारण निम्तिएको यो संकटपूर्ण अवस्थामा सरकारलाई सघाउन एकका लागि एक अभियानको अगुवाईमा पीसीआर ल्याव स्थापना गरेको भन्दै एकका लागि एक अभियानको प्रशंसा गरेका थिए । उनले भने, ‘झापा लगायत देशभर कोरोना संक्रमितको संख्या वढीरहेको यो समयमा सरकारलाई सघाउन पीसीआर ल्याव स्थापना गरेर प्रसंशायोग्य कार्य गर्नुभएको छ, त्यसका लागि म एकका लागि एक अभियानका संयोजक, सहसंयोजक , सदस्यहरु, सहयोगदाता सबैलाई यस्तो प्रशंसनीय कामका लागि धन्यवाद ज्ञापन गर्दछु । ’

एकका लागि एक अभियानका सह–संयोजक विनोद बस्नेतले सरकार – समुदाय–सहकारी –निजी क्षेत्रको साझेदारीमा स्थापित ल्यावकोबारेमा जानकारी गराउँदै ल्यावको सञ्चालनमा भइरहेको ढिलाईप्रति पूर्व उपप्रधानमन्त्री सिटौलाको ध्यानाकर्षण गराएका थिए । पीसीआर ल्याव निरीक्षण लगत्तै ल्यावस्थलवाटै पूर्व उपप्रधानमन्त्री सिटौलाले नेपाल सरकारका स्वास्थ्यमन्त्री भानुभक्त ढकालसंग टेलिफोन सम्वाद गरी जनस्तरबाट झापाको कनकाई नगरपालिका – ४ कोटिहोममा स्थापित पीसीआर ल्याव चाँडोभन्दा चाँडो सञ्चालनमा ल्याउन आग्रह गरेका थिए ।
स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोटिहोममा स्थापित पीसीआर ल्यावको सञ्चालनको अनुमति दिने पत्रको खोजी गरी पीसीआर ल्याव चाँडोभन्दा चाँडो सञ्चालनमा ल्याउन पहल गर्ने आश्वासन दिएको पूर्व उपप्रधानमन्त्री सिटौलाले बताएको अभियानका सहसंयोजक वस्नेतले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्