झापा, भदौ १ । नेपाल विद्युत प्राधिकरणका ३ र जीवन विकास लघु वित्त संस्थाका २ गरी पाँच कर्मचारीसहित झापामा आज सातजनामा कोरोना संक्रमण देखिएको छ ।

नेपाल विद्युत प्राधिकरण दमकका पाँचजना कर्मचारीमा संक्रमण देखिएको तीनदिनपछि प्राधिकरणकै थप तीन कर्मचारीलाई संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेहरु दमकका एकजना र शिवसताक्षी नगरपालिकाको ब्लुचौक वितरण केन्द्रका दुई कर्मचारी रहेका छन् । ब्लुचौक वितरण केन्द्रका संक्रमित कर्मचारीलाई क्वारेन्टाइनमा बोलाई आइसोलेसन सेन्टर लाने तयारी भइरहेको शिवसताक्षी नगरपालिकाका प्रवक्ता नवीन इजमले बताए । त्यस्तै विद्युत प्राधिकरण दमकका थप एकजना कर्मचारीलाई आज संक्रमण पुष्टि भएको दमक नगरपालिकाका स्वास्थ्य शाखाका अधिकृत नगेन्द्र भट्टराईले बताए । त्यस्तै दमकमा होम क्वारेन्टाइनमा बसेका एकजना पुरुषमा पनि आज कोरोना देखिएको छ । उनी भारतबाट फर्केर होम क्वारेन्टाइनमा बसेको भट्टराईले बताए । साउन २८ गते ९८ जनाको स्वाब संकलन गरी पठाउँदा ६ जनाको रिपोर्ट पोजिटिभ आएको अधिकृत भट्टराईले जनाएका छन् । त्यस्तै कनकाई नगरपालिकामा पनि एकजनामा संक्रमण देखिएको प्रदेश १ को सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्