बिर्तामोड , भदौ २ । भारतबाट आएर तरकारी खेती गर्ने पुल्लीवालालाई जित्दै बिर्तामोड ९ का यज्ञराज श्रेष्ठले एकलट रायो साग बिक्री गरिसके । उनको अर्को लटको रायो साग पनि बेच्ने बेला भइसक्यो ।

रायो साग टिप्दै श्रेष्ठ

विगत ७ वर्षदेखि तरकारी खेती थालेका ४४ वर्षिय श्रेष्ठ बेमौसमी तरकारी खेतीका लागि सिपालु देखिएका छन् ।एउटा टनेलमा छरेको रायो साग उनले अस्ति नै बिक्री गरिसकेका हुन् । अब दुई—चारदिनमा दुईवटा टनेलको साग बिक्री गर्दैछन् । अफसिजनको साग भएकाले एउटै टनेलबाट उनलाई ५ हजारभन्दा बढीको कमाइ भयो । बाँकी दुईवटा टनेलबाट पनि राम्रै आम्दानी हुने देखिएको छ ।रायो सागसँगै श्रेष्ठको करेसाबारीमा यतिबेला बोडी र भिन्डी रोपिएका छन् । अरुको भिन्डी फलेर सकिसक्यो । तर, उनको भिन्डी भर्खर फल्न लागेको छ । त्यस्तै बोडी पनि फल्ने बेला भइसक्यो । त्योसँगै उनले असोजको अन्तिमतिर फलाउने गरी फूलकोपीको बिरुवा उमारिसकेका छन् । बेमौसमी अर्गानिक तरकारी उत्पादनका लागि युवा कृषक श्रेष्ठ लागिपरेका छन् । उनले त्यसबाट दामसँगै नाम पनि कमाएका छन् । पाँच कठ्ठा जग्गामा तरकारी खेती गर्दै आएका उनको मासिक कमाइ ३० देखि ४० हजार रुपैयाँसम्म छ ।‘ घरपरिवारसँग बसेर महिनाको ३०—४० हजार आम्दानी खर्च कटाएर हुन्छ’ उनले भने,‘ बेमौसमी तरकारीबाट राम्रो मूल्य पाउँदा खुशी लाग्छ ।’ खाद्यान्न बालीभन्दा तीन गुणाबढी फाइदा तरकारी खेतीबाट लिन सकिने उनको अनुभव छ ।

फल्न लागेको भिन्डी

खाद्यान्न बालीको एक फसल फल्ने बेलासम्म तरकारीको तीन बाली लिन सकिन्छ । ‘ असारमा रोपेको धान ४—५ महिनामा फल्छ’ उनले भने, त्यतिञ्जेलसम्म तरकारीको तीन बाली लिन सकिन्छ ।’ अरु कृषकको तरकारी बजारमा निस्किने बेलामा श्रेष्ठको सिद्धिसकेको हुन्छ । बेमौसमी तरकारीबाट राम्रो आम्दानी भएपनि चुनौती पनि रहेको उनको भोगाइ छ । ६ वर्षअघि सहारा नेपालको दुईदिने तालिमबाट उत्साहित भएर श्रेष्ठले व्यावसायिक तरकारी खेती तालिम थालेका थिए । त्यसयता उनी बिर्तामोड नगरपालिकाको विभिन्न तालिममा सहभागी भएका छन् । नगरपालिकाबाटै उनले टनेल अनुदान सहयोग पाएका हुन् ।

व्यवस्थित रुपमा गरिएको तरकारी खेती

उनको प्रगति देखेर छिमेकीहरुले पनि बेमौसमी तरकारी खेती थालेका छन् । त्यही टोलका साबित्रा इङनाम , अमृता मादेनलगायतले पनि टनेलमा तरकारी लगाएका हुन् ।त्यसबाहेक बिर्तामोड ९ का अन्य कृषकहरु पनि अहिले बेमौसमी तरकारी खेतीतर्फ आकर्षित भएका छन् । सोही वडाका बृहष्पति सेढाईले पनि व्यावसायिक रुपमा तरकारी खेती थालेका छन् । बिर्तामोड ९ मा २० जना कृषकले अहिले व्यावसायिक तरकारी खेती गरिरहेका छन् । ती कृषकहरुलाई समेटेर भर्खरै नवकिरण अर्गानिक तरकारी उत्पादक समूह गठन गरिएको छ । गोविन्द सुवेदीको अध्यक्षतामा ७ सदस्यीय समिति गठन गरिएको हो ।नगरपालिकाबाट आउने अनुदानलाई नियमित गर्ने, अर्गानिक उत्पादन गरेर बिर्तामोडलाई आत्मनिर्भर बनाउने, किसानहरुको आर्थिक उन्नति गर्ने उद्धेश्य राखेर तरकारी कृषकहरुलाई संगठित गरिएको समूहका सचिव रहेका श्रेष्ठले बताए ।

4 वटा प्रतिक्रिया

  1. धन्यवाद प्रतिदिन दैनिक र इन्द्र दाइलाई जस्ले एउटा किसानको घरमा गएर यो लेख तयार पारेकोमा ।

  2. धन्यवाद प्रतिदिन दैनिक र इन्द्र दाइलाई जस्ले एउटा किसानको घरमा गएर यो लेख तयार पारेकोमा ।

  3. प्रगति राम्रो छ भिनाजुको।अझ प्रगती हुदै गएको देख्नु पाईयोस्। शुभकामना।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्