झापा , भदौ २ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा झापाका ३९ जना विद्यार्थी अयोग्य ठहरिएका छन् ।

जिल्लाबाट सामुदायिक र संस्थागत विद्यालयका गरी १५ हजार ८०२ जना विद्यार्थीले आवेदन फारम भरेका थिए । त्यसमध्ये ३९ जना विद्यार्थी अयोग्य ठहरिएको जिल्ला शिक्षा समन्वय इकाई झापाले जनाएको छ । अयोग्य ठहरिनेमा १९ छात्रा र २० छात्र रहेका छन् । यस वर्षको एसईई परीक्षाका लागि नियमिततर्फ १५ हजार ८०२ र अपग्रेडतर्फ ३४१ गरी १६ हजार १४३ जना विद्यार्थीले आवेदन फारम भरेका थिए । ७० प्रतिशत हाजिरी नपुगेका , राजश्व नतिरेका , बिहे गरेर गएका विद्यार्थीहरुलाई अयोग्य ठहर गरिएको जिल्ला शिक्षा समन्वय इकाई झापाका अधिकृत शिव घिमिरेले बताए । झापामा २०४ संस्थागत र १३५ सामुदायिक गरी कूल ३३९ विद्यालयले यस वर्षको एईई परीक्षाको तयारी गरेका थिए । विद्यालय आफैँले मूल्यांकन गरेर पठाएको विद्यार्थीको नतिजालाई रुजु गरेर राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको थियो । देशभरि परीक्षामा सहभागी हुन ४ लाख ८२ हजार ९ सय ८६ जनाले फाराम भरेकोमा ४ लाख ७२ हजार ७८ जनाको नतिजा मात्रै प्रमाणीकरण गरिएको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्