झापा , भदौ २ । झापामा एकैदिन समुदायका १२ जनामा कोरोना संक्रमण देखिएको छ ।

जिल्लामा कोरोना संक्रमितहरुको सँख्या बढेसँगै समुदायमा समेत संक्रमण फैलिदै गएको हो । मंगलबार समुदायका १२ जनासहित २० जनामा संक्रमण पुष्टि भएको हो । बीचमा संक्रमितहरुको सँख्या एकोहोरो अंकमा झरेकोमा त्यो बढेर दोहोरो अंकमा पुगेको छ । केही दिनदेखि लगातार संक्रमितको ‘हटस्पट’ बन्दै गएको दमकमा मंगलबार ९ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितहरु ८ पुरुष र एक महिला रहेका छन् । दमक ३ का दुईजना , ५ का पाँचजना , ४ का एकजना र ७ का एकजना रहेका छन् । ९ जनामध्ये समुदायका ५ जना र बाँकी ४ जना साउदी अरब र भारतबाट फर्केर होम क्वारेन्टाइन र क्वारेन्टाइनमा बसेकाहरु रहेका छन् । ट्राभल हिष्ट्री नभएका ब्यक्तिमा संक्रमण देखिएको दमक नगरपालिकाका स्वास्थ्य शाखाका अधिकृत नगेन्द्र भट्टराईले बताए । उनले साउन ३० गते १०७ जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाउँदा त्यति जनामा संक्रमण देखिएको जानकारी दिए । यसअघि सोमबार दमकमा ६ र आइतबार ७ जनामा संक्रमण देखिएको थियो । समुदायमा संक्रमण फैलिसकेपछि दमकमा आइतबारदेखि एक साताको लागि लकडाउन लगाइएको छ । त्यस्तै बुद्धशान्ति गाउँपालिकामा समुदायका एक ब्यक्तिमा संक्रमण देखिएको छ । जीवन विकास लघु वित्त संस्थामा काम गर्ने कर्मचारीमा संक्रमण देखिएको हो । ५० जनाको पिसिआर टेष्ट गर्दा ती कर्मचारीको रिपोर्ट पोजिटिभ आएको गाउँपालिकाका अध्यक्ष रमेश भुजेलले बताए । उनले ती कर्मचारीका दुईजना साथीलाई पनि ज्वरो आएको र संक्रमितले धेरैलाई भेटेको हुनाले बिहीबारदेखि कन्ट्याक्ट ट्रेसिङ गरिने जानकारी दिए । त्यस्तै अर्जुनधारा नगरपालिकामा समुदायका एक ब्यक्तिमा पनि संक्रमण पुष्टि भएको छ । यसअघि क्वारेन्टाइनमा बस्दा पिसिआर रिपोर्ट नेगेटिभ आएपछि घर फर्र्किसकेका एक पुरुषमा संक्रमण देखिएको हो । साउन २७ गते स्वाब संकलन गरी पठाउँदा साउन ३२ गते रिपोर्ट नेगेटिभ आएपछि ती ब्यक्तिलाई घर पठाइएको थियो । संक्रमित घर गइसकेपछि समुदायमा संक्रमण फैलिन सक्ने भएकाले बिर्तामोड बसपार्कका ती ब्यक्तिको घर सिल गरिएको र उसको सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङ गरिने अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पंकज भूर्तेलले बताए । त्यस्तै मोरङको सुन्दरहरैचाबाट सरुवा भएर जिल्ला प्रहरी कार्यालय भद्रपुर आएका एक प्रहरीलाई संक्रमण पुष्टि भएको छ । ती प्रहरी साउन २६ गते आएको र आएपछि उनलाई आन्तरिक क्वारेन्टाइनमा राखिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राकेश थापाले जनाएका छन् । त्यस्तै सशस्त्र प्रहरीको पाथीभरा गण पाडाजुंगीका एक जवानलाई मंगलबार नै कोरोना देखिएको छ । त्यस्तै मेची प्रादेशिक हस्पिटल भद्रपुरको आइसोलेसनमा रहेका समुदायका दुईजनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन जीवन चौलागाईले बताए । त्यस्तै बिर्तामोड नगरपालिका वडा नं ६का एक ब्यक्तिमा मंगलबार नै संक्रमण पुष्टि भएको छ । भारतबाट फर्केका भारतीय सैनिकलाई कोरोना देखिएको बिर्तामोड ६ का वडाध्यक्ष सूर्य कन्दङबाले बताए । त्यस्तै झापा गाउँपालिका वडा नं २ र ३ का दुई पुरुषमा संक्रमण देखिएको छ । भारत र साउदी अरबबाट फर्केका ती ब्यक्ति स्थानीय डिल्लीराज मावि क्वारेन्टाइनमा बसेका थिए ।त्यस्तै कनकाई नगरपालिका वडा न ४ की २० वर्षिया महिला पनि संक्रमित भएकी छन् । उनी भारतबाट फर्केर आचार्य बन्धु भवनको क्वारेन्टाइनमा बसेकी थिइन् । श्रीमान श्रीमती र भाइ विदेशबाट फर्केकोमा अन्य दुईजनामा संक्रमण नदेखिएको नगरपालिकाका स्वास्थ्य शाखाका लक्ष्मी अधिकारीले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्