झापा भदौ, ३ । बुधबार बिर्तामोडस्थित विएण्डसी हस्पिटलमा उपचाररत एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कमल गाउँपालिका –३का ८३ बर्षिय वृद्ध ज्वरो आएपछि एक साता अघि विएण्डसी हस्पिटल भर्ना भएका थिए ।

कलेजो र मृगौलाको समस्या झेल्दै आएका वृद्ध विएण्डसी भर्ना हुनु अघि नियमित चेकजाँचको लागि दमक स्थित लाइफलाइन हस्पिटल गएको बुझिएको छ । उनलाई विएण्डसीको आइसोलेशन कक्षमा राखेर उपचार गराइएको कमल गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बाबुराम राईले जानकारी दिए । कोरोना संक्रमण पुष्टिभएसँगै उनलाई थप उपचारका लागि धरानस्थित कोभिड अस्पताल लगिएको राईले बताए । विएण्डसी हस्पिटलले कोरोना आशंका गरिएका बिरामीको उपचारका लागि बेग्लै आइसोलेशन कक्ष र स्वास्थ्यकर्मीको व्यवस्था गरेको जनाएको छ ।

उनीसँगै बुधबार झापामा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पुष्टि हुनेमा दमकका १३ जना रहेका छन् । केही दिन अघि स्वाब संकलन गरी परीक्षणका लागि पठाइएका मध्ये १३ जना पुरुषको रिपोर्ट पोजेटिभ आएको हो ।
जसमा तीन जना शसस्त्र प्रहरी रहेका छन् । दुईजना नेपाल टेलिकम दमकका कर्मचारी भएको जनाइएको छ । त्यसैगरी दमक –५को होम क्वारेन्टाईनमा बसेका ३१ वर्षका एक पुरुषमा पनि संक्रमण देखिएको छ । अन्य ७ जना बिभिन्न देशबाट आएर दाहाल प्रतिष्ठानको क्वारेन्टाइनमा बसेकाहरु हुन् ।

बिर्तामोड –६का २३ वर्षिय पुरुषमा पनि बुधबार कोरोना संक्रमण पुष्टि भएको छ । भारतबाट आएका उनी मेची आँखा अस्पतालको क्वारेन्टाइनमा रहेका थिए । बाह्रदशी गाउँपालिकामा २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाह्रदशी –१ का पुरुष र बाह्रदशी–५ की महिलामा कोरोना पुष्टि भएको हो । पुरुष दुबइबाट आएर पशुपति मावि क्वारेन्टाइनमा बसेका थिए भने महिला भारतको सिमा कदुभिट्टाबाट फर्केकी हुन् । गत साउन २७ गते ६७ जनाको स्वाव संकलन गरी परीक्षणका लागि पठाइएको थियो । त्यसमध्ये ३७ जनाको रिपोर्ट आउँदा २ जनामा संक्रमण पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य शाखाका कर्मचारी खेमराज साहले बताए । त्यस्तै बुधबार नै कचनकवल गाउँपालिकामा एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना पुष्टि हुनेमा कचनकवल –४का १८ वर्षिय युवक रहेका छन् । भारतको हैदरावादबाट फर्केर उनी कचनकवल– ३स्थित पथरिया मावि क्वारेन्टाइनमा बसेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्