झापा , भदौ ३ । विषादि प्रयोग गरी पकाएको केरा खान उपभोक्ताहरु बाध्य भइरहेको अबस्थामा पूर्वी नेपालमा पहिलोपटक केरा पकाउने घर निर्माण गरिने भएको छ ।

व्यावसायिक केरा खेती

बिनाविषादि केरा पकाउनका लागि झापा गाउँपालिका ३ मा केरा पकाउने घर( राइजिङ चेम्बर्स) निर्माण गरिन लागिएको हो । केरा उत्पादकहरुले कार्बेट नामक विषादि हालेर केरा पकाउने गरेका छन् । झापा गाउँपालिका ३ मा व्यावसायिक केरा खेती थालेको साधना संस्कृति नमूना कृषि फार्मले पूर्वमै पहिलोपटक केरा पकाउने घर निर्माण गर्न लागेको हो । हाल काठमाडौंको आरएनडी नामक कम्पनीले मात्र केरा पकाउने घर बनाएर विषादीरहित केरा उत्पादन गर्ने गरेको छ । बीस विघाभन्दा बढी जग्गा लिजमा लिएर गत वर्षदेखि केरा खेती थालेको साधना संस्कृति नमूना कृषि फार्मले आफ्नो उत्पादनलाई अर्गानिक बनाउन केरा पकाउने घरको निर्माण शुरु गरेको हो । आगामी फागुन महिनादेखि त्यहाँ केरा उत्पादन हुँदैछ । फागुनदेखि बगानमा केरा फल्ने भएको र त्यसलाई मध्यनजर गरी केरा पकाउने घर निर्माण थालिएको फार्मका संचालक चन्द्र बस्नेतले बताए । उनले त्यस बेलासम्म घर निर्माण भइसक्ने जानकारी दिए । घर निर्माणका लागि मेशिनसहित करिव २० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । त्यसको लागि कृषि ज्ञान केन्द्रले यस वर्ष ८ लाख रुपैयाँ अनुदान सहयोग गरेको थियो । फार्मले केरा पकेट कार्यक्रमका लागि अनुदान सहयोग माग गरेको थियो । त्यस अनुदानको रकम र थप आफ्नो रकमले केरा घरका लागि संरचना निर्माण गरिएको संचालक बस्नेतले बताए ।

केरा पकाउने घरको तयारी

घरभित्र निश्चित तापक्रमको व्यवस्था गरेर केरालाई विनाविषादि पकाउने प्रविधि प्रयोग गरी उपभोक्ताहरुलाई अर्गानिक र स्वस्थबद्र्धक केरा उपलब्ध गराउने आफूहरुको योजना रहेको उनले सुनाए । इजरायलबाट सीप सिकेर आएका बस्नेतले साझेदारीमा व्यावसायिक केरा खेती थालेका हुन् । उनीहरुले केरा संकलन केन्द्र खोलेर आफ्नोसँगै अन्य किसानको पनि उत्पादन खरिद गरी केरालाई व्यावसायिकरण गर्न खोजेको जनाएका छन् । ‘ बिचौलियालाई निरुत्साहित गर्दै आफ्नै मार्काको उत्पादनलाई उपभोक्ताको घरसम्म पुर्याउने लक्ष्य छ’ बस्नेतले भने ,‘ त्योसँगै केराजन्य उद्योग संचालन गर्ने उद्धेश्य पनि राखेका छांै ।’ ‘झापाली केरा’ स्टीकर भएको केरा देशविदेश निर्यात गर्ने योजना संस्थाको रहेको छ । इजरायलको प्रविधिअनुसार करिव ९ विघामा विलियम नामक हाइब्रिड तथा मालभोक र कुकुर्टे जातका स्थानीय केरा लगाइएको छ । केराको कटाइ र पकाइमा स्वाद निर्भर हुने बताउँदै अगुवा कृषक बस्नेत भन्छन्‘ हामी उपभोक्ताहरुलाई स्वादिष्ट केरा उपलब्ध गराउँछौं ।’

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्