कमल, भदौ ३ । कमल गाउँपालिकाको वडा नम्वर ३ केर्खा बजारमा पहिलोपटक समुदायमा कोरोना पोजेटिभ देखिएपछि गाउँपालिकाले बजार बन्द गरी आवतजावतमा रोक लगाएको छ ।

आज बिर्तामोडस्थित बीएण्डसी हस्पिटलमा उपचाररत कमल गाउँपालिका -३का ८३ बर्षिय वृद्धमा कोरोना पुष्टि भएको हो । ज्वरो आएपछि एक साताअघि उनी बीएण्डसी हस्पिटल भर्ना भएका थिए । कलेजो र मिर्गौलाको समस्या झेल्दै आएका वृद्ध बीएण्डसी भर्ना हुनु अघि नियमित चेकजाँचको लागि दमकस्थित लाइफलाइन हस्पिटल गएको बुझिएको छ । उनलाई बीएण्डसीको आइसोलेशन कक्षमा राखेर उपचार गराइएको कमल गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बाबुराम राईले जानकारी दिए । कोरोना संक्रमण पुष्टि भएसँगै उनलाई थप उपचारका लागि धरानस्थित कोभिड अस्पताल लगिएको राईले बताए । ती बृद्धमा संक्रमण पुष्टि भएकोले कन्ट्याक्ट ट्रेसिङ गर्न बुधबार राति १२ बजेदेखि ९ गतेसम्म केर्खा लकडाउन गर्ने निणर्य गरिएको गाउँपालिकाले जनाएको छ । संक्रमित बृद्धको सम्पर्कमा आएका व्यक्तिको पिसिआर परिक्षणका लागि स्बाव संकलन गर्नुपर्ने भएकोले वडा नम्वर ३ को फाल्गुनन्द टोल र शान्ति टोल क्षेत्रको (पश्चिममा ढ्याग्रे खोला, पूर्वमा केर्खा खोला, उत्तरमा पूर्वपश्चिम लोकमार्ग र दक्षिणमा निहारिका बोडिङ्ग स्कुल अगाडीको तेर्सो बाटो) पूणर्रुपमा सिल गरिएको कमल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठले जानकारी दिए । लकडाउन अवधिभर औषधी पसलबाहेक अन्य कुनै पनि पसल खोल्न पाईने छैन । दुध डेरी भने विहान ६ बजेदेखि ८ बजेसम्म र बेलुका ४ः३० बजेदेखि ६ः३० बजे सम्ममात्र खोल्न पाईने गाउँपालिको जनाएको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्