झापा, भदौ ४ । भारतसँग सीमा जोडिएको झापा गाउँपालिकामा यतिबेला साइकल र मोटरसाइकलको ताँती छ । नेपाली बजारमा कही पनि रासायनिक मल युरिया नपाएपछि भारतीय मल लिन किसान र व्यापारी सीमासम्म पुग्ने गरेका हुन् ।

दशगजामा मल लिनेको भीड

दशगजामा मल पर्याप्त छ ।त्यही मलले जिल्लाका किसानहरुले आफ्नो समस्या धानिरहेका छन् भने व्यापारीहरुको कमाइ पनि राम्रो छ । झापा गाउँपालिकाको लसुनगञ्ज र सालमारा हुँदै दशगजाबाट भारतीय मल ल्याउने क्रम बढेको हो । दिनमा ४ सयदेखि ५ सयजनासम्म मल लिन पुग्ने गरेको झापा गाउँपालिकाका एक स्थानीयले बताए । सजिलो र सहज बाटो भएकाले जिल्लाका अधिकांश त्यही भएर जाने गरेको उनले बताए । भारतीय व्यापारीहरुले मल दशगजासम्म नेपाली व्यापारीहरुलाई ल्याइदिने गरेका छन् । जुन मल स्थानीय नेपाली व्यापारीहरुले किसान र अन्य खुद्रा व्यापारीहरुलाई बिक्री गर्छन् । लसुनगञ्ज र सालमारामा नेपाली व्यापारीहरुसँग ठूलो मात्रामा मल स्टक राखिएको छ । कोरोना भाइरसको महामारीका कारण नेपाल भारत सीमामा कडाई गर्ने गरिएपनि मल आपूर्तिमा कुनै रोकटोक नभएको अर्का स्थानीयले बताए । उनका अनुसार रातको समय पारेर भारतीय व्यापारीहरुले दशगजासम्म मल ल्याइदिने गरेका छन् । दशगजामा युरिया प्रतिबोरा ११५० रुपैयाँ पर्ने गरेको छ । जुन मल नेपाली व्यापारीहरुले बाहिर लगेर प्रतिबोरा २००० रुपैयाँका दरले बेच्ने गरेका छन् । भारतमा भने त्यस मलको मूल्य प्रतिबोरा ४०० भारु पर्ने गरेको छ ।
मल हाल्न नपाएर किसानहरुको धानबाली बिग्रिन लागेकाले सीमाबाट भारतीय मल ल्याउनका लागि त्यति कडाई नगरिएको हो । मल ल्याउने जिम्मेवारी पाएका कृषि सामग्री संस्थान र साल्ट ट्रेडिङ कर्पोरेशनले मल आपूर्ति गर्न सकिरहेका छैनन् । त्यही भएर जिल्लाका किसानहरुले अवैध र महँगो भएपनि भारतीय मल प्रयोग गर्नु परिरहेको हो । ‘किसानका समस्यालाई बुझेर मल ल्याउन हामीले रोकटोक गरेका छैनौं’ झापा गाउँपालिकाका एक जनप्रतिनिधिले भने,‘ नीति नियम एकातिर छ व्यवहारिकता अर्कोतिर छ ।’ सरकारले किसानलाई मल दिन सकेको भए कोरोना महामारीकाबीच भारतीय सीमा जानु पर्ने आबश्यकता नपर्ने उनले बताए । झापा गाउँपालिकाले एक ब्यक्तिलाई एक बोरा मल मात्र ल्याउन दिने गरेको छ । ‘व्यापारभन्दा पनि किसानको आबश्यकता पूर्तिका लागि एकजना बराबर एक बोरा मल लान दिएका छौं ’ती जनप्रतिनिधिले भने ।मल लिनको लागि वडा कार्यालयहरुले सिफारिस उपलब्ध गराउने गरेका छन् । मल लिन जाने ब्यक्तिलाई वडा कार्यालयहरुले ‘स्थानीय कृषक हो’ भनेर प्रमाणित गरिदिने गरेको र त्यस सिफारिसका आधारमा सुरक्षाकर्मीहरुले मल ल्याउन दिएको स्थानीय बताउँछन् । व्यापारीहरुले एउटै सिफारिसलाई फोटोकपि गरेर दिनहँु मल ल्याउने गरेको घटना समेत रहेको नाम नखुलाउने शर्तमा एक स्थानीयले प्रतिदिन दैनिकलाई बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्