दमक , भदौ ५ । झापाको कमल गाउँपालिका ५ मा रहेको पाडाजुंगी चौकको नाम परिवर्तन गर्ने प्रस्तावको तीब्र बिरोध भएको छ ।

कमल ५ का वडाध्यक्ष डम्बर निरौलाले पाडाजुंगी चौकको नाम परिवर्तन गरी कमल चौक राख्ने प्रस्ताव ल्याएका हुन् ।उनले सामाजिक संजालमा पाडाजुंगी चौकको नाम फेरेर कमल चौक राख्न उपयुक्त हुने प्रस्ताव गरेका थिए । त्यस प्रस्तावलाई कुनै पनि हालतमा नस्वीकार्ने स्थानीयले बताएका छन् ।

स्थानीयका तर्फबाट पाडाजुंगी युथ फेमिलीले एक विज्ञप्ति जारी गरी विगतदेखिको लामो इतिहास र संस्कृतिलाई नामेट पार्ने गरी ल्याइएको त्यो प्रस्ताव पूर्णरुपमा अस्वीकार्य भएको बताएको छ । क्लबका तर्फबाट अध्यक्ष धिरज श्रेष्ठ र सचिव शिखर लिम्बूले विज्ञप्ति जारी गर्दै त्यो प्रस्ताव फिर्ता लिन वडाध्यक्ष निरौलालाई आग्रह गरेका छन् । अन्यथा त्यसको लागि जस्तोसुकै मूल्य चुकाउन स्थानीय पछि नपर्ने चेतावनीसमेत दिएका छन् । गौरादह र गौरीगञ्ज जाने सडकलाई जोड्ने पाडाजुंगी चौकको ऐतिहासिक महत्व रहेको छ । यसअघि गाउँपालिकाले त्यस ठाउँमा कमल फूलको स्तम्भ निर्माण गरी पाडाजुंगी चौकलाई आधिकारिक रुपमा नामाकरण गरिसकेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्