झापा, भदौ ६ । झापाको बिर्तामोडमा रहेको पूर्वाञ्चल क्यान्सर अस्पतालले कलेजोसँगै टासिएको ट्युमरको सफल शल्यक्रिया गरेको छ । अस्पतालमा दुबै मृगौलाको माथि, कलेजोसँगै टाँसिएको ट्युमरको शल्यक्रिया सफल भएको हो ।

शल्यक्रियाको क्रममा अस्पतालले लिएको तस्बिर ।


मोरङको पथरीशनिश्चरे नगरपालिका –७ की बबिता माझि विगत ४ महिनादेखि कलेजोसँगै टाँसिएको ट्युमरबाट पीडित थिइन् । “यो शल्यक्रियालाई ‘एड्रिनल मास’ भनिन्छ” उपचारमा संलग्न डा.बासुदेब बाँस्कोटाले भने “सायदै नेपालमा पहिलोपल्ट एड्रिनल मासको शल्यक्रिया सफल भएको हो ।” विश्वका विकसित देशका अनुभवी चिकित्सकले मात्र गर्ने शल्यक्रिया पूर्वाञ्चल क्यान्सर अस्पतालमा सफल भएको डा. बाँस्कोटाले जानकारी दिए । शल्यक्रिया सक्न ४ घण्टा बढी समय लागेको शनिबार अस्पतालले आयोजना गरेको पत्रकार सम्मेलनमा डा. बाँस्कोटाले बताए ।
‘बहिनिको उपचारका लागि विभिन्न हस्पिटल पुगेँ, नेपालमा उपचार सम्भव छैन भन्ने सुन्नु प¥र्यो’ माझीका दाजु गणेश लिम्बुले भने, ‘पूर्वाञ्चल क्यान्सर अस्पतालले मेरो बहिनीलाई नयाँ जीवन दिएको छ ।’ सर्वशुलभ मूल्यमा गुणस्तरीय उपचार पाएको लिम्बु बताउँछन् ।


बिर्तामोडमा गत पुष महिनादेखि सञ्चालनमा ल्याइएको पूर्वाञ्चल क्यान्सर अस्पताल नेपालमै उच्च प्रविधिको मेसिनसहित स्थापित छ । ६ महिना लामो लकडाउनका कारण भारत जाने बिरामी पनि यहीँ आउने गरेकोले थप बिरामीको सेवामा अस्पताल क्रियाशील रहेको जनसम्पर्क अधिकारी प्रमिस गिरीले बताए । कोरोना महामारीको समयमा पनि जटिल प्रकारका रोगको उपचार गर्दै आएको विएण्डसी र पूर्वाञ्चल क्यान्सर अस्पतालले जुनसुकै समयमा पनि उपचार दिने अस्पतालका सञ्चालक दुर्गा प्रसाईँले बताए ।

१ प्रतिक्रिया

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्