दमक , भदौ ६ । संक्रमण तीव्र फैलिदै गएको दमकमा निषेधाज्ञालाई फेरि एक साताका लागि थपिएको छ ।

नगरपालिकामा आज बसेको कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिको बैठकले कोरोना संक्रमित बढेको भन्दै निषेधाज्ञालाई भदौ १३ गते राति १२ बजेसम्म थप गर्ने निर्णय गरेको हो । बैठकमा जनप्रतिनिधिहरुसहित राजनीतिक दल, सुरक्षा अधिकारी तथा स्थानीय सामाजिक संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
यसअघि दमकमा कोरोनाको जोखिम बढेको भन्दै एक सातासम्म निषेधाज्ञा गर्ने निर्णय गरिएको थियो । त्यसको समयसीमा आज सकिदै थियो । तर, आज नै थप १६ जनामा एकैसाथ कोरोना संक्रमण पुष्टि भएपछि नगरपालिका निषेधाज्ञा थप गर्ने निश्कर्षमा पुगेको हो ।
नेपाल बिद्युत प्राधिकरणका ७ कर्मचारी, ८ जना प्रहरी र दमक फार्मेसीका १ जनामा कोरोना पुष्टि भएको हो । योसँगै दमकमा कोरोना संक्रमितको संख्या ६६ पुगेको छ ।
दमक फार्मेसीका एक पुरुषमा कोरोना देखिएसँगै फार्मेसी सिल गरिएको छ । दमकमा समुदायमा पनि कोरोना संक्रमितहरू फेला पर्न थालेको भन्दै नगरपालिकाले नगर क्षेत्रभरि गत साउन ३२ गतेदेखि निषेधाज्ञा जारी गरेको छ । संक्रमितमध्ये अहिलेसम्म १४ जना उपचारपछि घर फर्किएका छन् भने अन्यको कोभिड अस्पताल तथा विभिन्न होम आइसोलेसनमा उपचार भइरहेको स्वास्थ्य शाखाका अधिकृत नगेन्द्र भट्टराईले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्