बिर्तामोड , भदौ ७ । विजुलीको लाइन जाँदा सबै ग्राहकहरुले फोन गर्ने टेलिफोन नम्बर हो ५४०२९४ । नेपाल विद्युत प्राधिकरण अनारमनी वितरण केन्द्रले ग्राहकहरुलाई समस्या पर्दा गुनासो सुन्नका लागि कर्मचारीसहित त्यस टेलिफोनको व्यवस्था गरेको हो । तर, दुई दिनदेखि विजुली जाँदासमेत ग्राहकहरुले बुझ्न पाएनन् । किनकि शनिबारदेखि सो टेलिफोन लाइन काटिएको छ ।

समयमा महशुल भुक्तानी नगरेपछि नेपाल टेलिकमले विद्युत प्राधिकरणको सो महत्वपूर्ण टेलिफोन लाइन काटिदिएको हो । जसका कारण विजुली गएपनि आफूहरुले बुझ्न नपाएको बिर्तामोड ३ का विनोद खरेलले बताए । उनले आइतबार दिउँसो दुई—तीन पटक विजुली जाँदा प्राधिकरणको टेलिफोन काटिएकाले बुझ्न नसकेको गुनासो गरे । प्राधिकरणजस्तो कार्यालयले आमग्राहकका लागि व्यवस्था गरेको टेलिफोन अबरुद्ध पारेर राख्नु गैरजिम्मेवार र लाजमर्दो भएको बिर्तामोड ९ का टेक राजवंशीले बताए ।उनले अरुबेला पनि प्राधिकरणको टेलिफोन हतपत नलाग्ने गरेको प्रतिक्रिया दिए । विद्युत प्राधिकरण अनारमनी वितरण केन्द्रले ग्राहकका लागि व्यवस्था गरेको ५४०२९४ र ५४६१७२ नम्बरको टेलिफोन लाइन यसअघि पनि काटिएको नेपाल टेलिकम बिर्तामोडका प्रमुख प्रशान्त तिवारीले बताए । उनले अघिल्लो महिना पछि विल भुक्तानी गर्ने भनेर आग्रह गरेपछि आफूले लाइन सुचारु गरिदिएको जानकारी दिए । ५४०२९४ नम्बरको फोन काटिएपछि ५४६१७२ नम्बरमा भेटिएकी एक महिला कर्मचारीले दुई दिनदेखि टेलिफोन काटिएको बताउँदै भोलि महशुल तिरेर सुचारु गराउने कुरा भएको जानकारी दिइन् । त्यसबारे प्राधिकरणका कार्यालय प्रमुख वीरेन्द्रकुमार झासँग बुझ्न पटकपटक फोन गर्दा उनले मोबाइल नै उठाएनन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्