झापा, भदौ ८ । ‘आउँछ मल एक दुई दिनमा आउँछ’ यो जवाफ हो साल्ट ट्रेडिङ कर्पोरेसन बिर्तामोडका कार्यालय प्रमुख देवराज भट्टराईको । युरिया मलको लागि हाहाकार मच्चिएका सबै किसानहरुलाई उनले यही जवाफ दिने गरेका छन् । तर, मल ठ्याक्कै कुन दिन आइपुग्ने हो त्यो उनलाई पनि थाहा छैन ।

मल खोज्दै साल्ट ट्रेडिङमा आइपुगेका किसान

यसअघि उनले दिएको भरोसा फेल भइसकेको छ । जिल्ला मलखाद आपूर्ति तथा व्यवस्थापन समितिमा उनले साउन २८ गते नै मल आइपुग्ने बताएका थिए ।त्यस मितिमा मल आइपुगेन । त्यसपछि भदौ ५ गते आउँछ भने । त्यस दिन पनि मल आइपुगेन । भदौ ७ गते किसानहरु पर्खेर बसे, हिजो पनि मल आइपुगेन । साल्ट ट्रेडिङको क्षेत्रीय कार्यालय विराटनगरले उपलब्ध गराएपछि उनले मल वितरण गर्ने हुन् । क्षेत्रीय कार्यालयको भरमा भट्टराईले किसानलाई आश्वासन दिदै आएका हुन् । आश्वासन पाएर आएका किसान मल नपाएपछि निराश भएर फर्किने गरेका छन् । दुई दिन अगाडि साल्ट ट्रेडिङको गोदाममै किसानहरु आइपुगे । हिजो पनि मल आइपुगेको हो कि भन्दै साल्ट ट्रेडिङको कार्यालयमा किसानहरु पुगेका थिए । साउन ७ गते मल आउँछ भनेर संचारमाध्यममा सुनेर हिजो बिर्ताबजारमा रहेको गरामनी कृषि सहकारी संस्थामा किसानहरुको भीड लाग्यो । मल आएको छैन भनेर किसानहरुलाई फिर्ता पठाउन सहकारीका संचालकहरुलाई गाह्रो पर्यो ।अन्ततः बिर्तामोड नगरपालिकाका नगर प्रमुख धु्रवकुमार शिवाकोटीले साल्ट ट्रेडिङ कर्पोरेसनमा मल आइनपुगेको भनेर सम्झाएपछि मात्र किसानहरु आ—आफ्नो घर लागेको सहकारीका अध्यक्ष तारा चाँपागाईले बताए । मल नपाएर समस्यामा परेका किसानहरुले साल्ट ट्रेडिङमा सोधेको र धाएको हप्तौ भइसक्यो । ‘दिनमा सयभन्दा बढी किसानको फोन आउँछ’ कार्यालय प्रमुख भट्टराईले भने,‘मैले पनि माथिको कुरा सुनाउने न हो । ’ एक साताभन्दा अघि नै भारतको कोलकातामा मल आइपुगेको भन्दै उनले त्यहाँबाट नेपाल ल्याउन ढिलाइ भइरहेको बताए । मल क्षेत्रीय कार्यालय विराटनगर पनि आइनपुगेको उनले बताए । कोलकाताबाट विराटनगर ट्रकमा र वीरगञ्ज र्याकमा मल आउँदै गरेको जानकारी आफूले पाएको कार्यालय प्रमुख भट्टराईको भनाइ छ ।

साल्ट ट्रेडिङको गोदाममा थन्किएको मल

आबश्यक मल नआएपछि साल्ट ट्रेडिङको गोदाममा ४१५ बोरा युरिया थन्किएको छ । जुन मल साउन २६ गते नै आइपुगेको थियो । थप मल आएपछि त्यसलाई वितरण गर्ने योजना साल्ट ट्रेडिङको रहेको छ । मल नआइपुग्दै ६५ वटा डिलरले नाम टिपाइसकेका छन् । साल्ट ट्रेडिङका आधिकारिक डिलरलाई मात्र मल दिने उसको योजना छ । मल आपूर्तिका सम्बन्धमा साल्ट ट्रेडिङको क्षेत्रीय कार्यालयमा बुझ्दा कोलकाताबाट मल आइपुग्न लागेको र आउने बित्तिकै बिर्तामोड पठाइने जानकारी मिलेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्