बिर्तामोड ,भदौ १० । लामो पर्खाइपछि साल्ट ट्रेडिङ कर्पोरेशन बिर्तामोडले बुधबारदेखि रासायनिक युरिया मल बिक्री वितरण शुरु गरेको छ ।

साल्ट ट्रेडिङ कर्पोरेशनको क्षेत्रीय कार्यालय विराटनगरबाट केही मात्रामा मल आइपुगेकाले बुधबारदेखि मल बिक्री वितरण गरिने बिर्तामोड शाखाका प्रमुख देवराज भट्टराईले बताए । उनले विराटनगरबाट एक गाडी मल आइपुगेको जानकारी दिए । ‘ पहिलो दिन १८ वटा सहकारी संस्थालाई ५० बोराका दरले ९०० बोरा मल वितरण गरियो ’ उनले भने । यसअघि गत साउन २६ गते आएको ४१५ बोरा मल पनि वितरण गरिएको उनले जनाए । थोरै मल आएपछि त्यसलाई वितरण नगरी गोदाममा राखिएको थियो । साल्ट ट्रेडिङ कर्पोरेशनले आफ्नो डिलर रहेका सहकारी संस्थालाई सो मल वितरण गर्न थालेको हो । मलका लागि ती डिलरहरुले एक साताअघि नै नाम टिपाएका थिए । युरिया नपाएर किसानहरु समस्यामा परेका बेला साल्ट ट्रेडिङ कर्पोरेशनले मल आपूर्ति गरेको हो ।साल्ट ट्रेडिङ कर्पोरेशन बिर्तामोड शाखाका प्रमुख भट्टराईले झापा जिल्लाको लागि ५० हजार बोरा मल मगाएको जानकारी दिए । रासायनिक मल कहीकतैबाट आपूर्ति नभइरहेका बेला त्यति मल किसानका लागि अपुग हुने भएको छ । झापा जिल्लालाई अहिलेको धान बालीका लागि ४ हजार मेट्रिक टन मल आबश्यक छ ।तर, साल्ट ट्रेडिङ कर्पोरेशनले ५० हजार बोरा अर्थात २५ सय मेट्रिक टन मल मात्र आपूर्ति गर्ने भएको छ । कृषि सामग्री संस्थानले मल आपूर्ति गर्न नसक्ने भएपछि समस्या आएको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्